बक्सअफिस कार्यान्वयन नगर्ने हलको इजाजत रद्दसम्म गर्ने बोर्डको तयारी
चलचित्र विकास बोर्डले बक्सअफिस कडाइका साथ पालना गराउने भएको छ । बक्सअफिसको मर्माअनुसार यसको पालना नहुँदा विशेषतः निर्माताहरू मारमा परेका छन् ।
बक्सअफिस प्रभावकारी कार्यान्वयन नभएको निर्माताहरूको गुनासो आएपछि बोर्डले यसको कार्यान्वयनमा कडाइ गर्न लागेको हो । “बक्सअफिसको कार्यान्वयनमा हामी कडाइ गर्दै छौँ । यसका लागि हामीले देशभर अनुगमन पनि गर्दै छौँ,” चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भन्छन्, “अनुगमनका क्रममा दोषी पाइएका सिनेमा हललाई हामी कारबाहीका लागि सिफारिस गर्नेछौँ ।”
दाहालले बक्सअफिसमा रियलटाइम डाटा उपलब्ध नगराउने र सही डाटा नपठाउने सिनेमा हलको इजाजत खारेजसम्मको कारबाहीका लागि सिफारिस गरिने बताए ।
बक्सअफिस लागु भए पनि सिनेमा हलले रियलटाइममा डाटा नपठाउने गरेको गुनासो निर्माताहरूले गर्दै आएका छन् । सही तथ्यांक नपठाउँदा राजस्वसमेत छली हुने गरेको छ । यो आवाज चर्को रूपमा उठेपछि बोर्डले बक्सअफिस लागु गर्ने सन्दर्भमा थप कडा कदम चाल्न लागेको हो ।
यसअघि, रातको समयमा केही सिनेमा हलले ‘केजीएफ च्याप्टर–२’ रिलिज गर्दा बोर्डले गरेको अनुगमनमा ठूलो बदमासी भेटिएको बोर्ड सदस्य अर्जुन कुमारले जानकारी दिएका छन् । उनले सोचे र अनुमान गरेभन्दा धेरै बदमासी सिनेमा हलले गरिरहेको बताए । टिकट संख्या नै न्यून देखाउनेसम्मको बदमासी भइरहेको पाइएको उनको भनाइ छ ।
विनाअनुमति रातको समयमा समेत शो चलाउने हललाई कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय र गृह मन्त्रालयमा कारबाहीका लागि पत्राचार गरिसकिएको बोर्ड अध्यक्ष दाहालले जानकारी दिए ।
बिग मुभिज, एफक्युब, बीएसआर र वान सिनेमाजले विनाअनुमति रातको समयमा ‘केजीएफ च्याप्टर–२’ चलाएका थिए ।
“बोर्डले केही काम गरेन भन्ने आरोप हामीलाई चौतर्फी रूपमा आइरहेको थियो । कोरोना महामारीपछि बल्ल त सिनेमा हल खुलेका छन्,” अर्जुन भन्छन्, “काम गर्ने वातावरण भर्खर सुरु भएको छ । अब हामी काम गरेर देखाउँछौँ । परिवर्तन देखिने गरी काम गर्नेछौँ । सिनेमा क्षेत्रको बेथिति अन्त्यका लागि बोर्ड केन्द्रित भएर काम गर्नेछ ।”