खेलाडी संघको अध्यक्षमा विक्रम लामा निर्वाचित
मिडफिल्डर विक्रम लामा खेलाडी संघको अध्यक्षमा निर्वाचित भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको संघमा लामा निर्विरोध निर्वाचित भएका हुन्।
गोलकिपर विकेश कुथु, मिडफिल्डर सुजल श्रेष्ठ र डिफेन्डर विराज महर्जन उपाध्यक्ष चयन भएका छन्।
यस्तै रन्जित धिमाल, अनन्त तमाङ, विशाल रई, विमल घर्तिमगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ सदस्य चयन भएका छन्। उपाध्यक्ष र सदस्य पनि निर्विरोध चयन भएका हुन्।
अध्यक्ष निर्वाचित भएपछि लामाले खेलाडीको हकहितका लागि आवाज उठाउने बताए।आगामी असार ६ गते हुने एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचनअघि खेलाडी संघमा पनि नयाँ नेतृत्व चयन भएको हो।
एन्फा केन्द्रीय निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ।
एन्फा निर्वाचनमा ४५ जिल्ला, १४ ए डिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी डिभिजन क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला संघ र रेफ्री संघका प्रतिनिधिले मत दिन पाउनेछन्।
यस्तै राष्ट्रिय लिगमा छनोट भएका मोफसलका चार क्लब गरी जम्मा ८७ भोटरले मत दिनेछन्।