वैदेशिक रोजगार बचत पत्रमा १२.५० प्रतिशत ब्याजदर

हेटौंडा खबर
२७ बैशाख २०७९, मंगलवार ११:५८

नेपाल राष्ट्र बैंकले जेठ १८ गतेदेखि पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचत पत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले यसपटक १२.५० प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ।

यसअघि १० प्रतिशत ब्याजदर प्रस्ताव गरेको राष्ट्र बैंकले यस पटक भने आकर्षक ब्याजदर प्रस्ताव गरेको हो। बैंक तथा वित्तीय संस्थामा अधिकत्तम ११.०३ प्रतिशत ब्याजदर पाइने भएपछि बचत पत्रमा एक प्रतिशतभन्दा बढी ब्याजदर तोकिएको हो।

असार ६ गतेसम्म आवेदन दिन सकिने यो बचत पत्र अनलाइनबाट समेत खरिद गर्न सक्ने जानकारी राष्ट्र बैंकले गैर-आवासीय नेपाली संघलाई गराएको छ।

चालु आर्थिक वर्षको लागि ५० करोड रूपैयाँ बराबरको वैदेशिक ऋणपत्र बिक्री गर्न लागिएको हो। यो चालु आवको लागि पहिलो पटक बिक्री गरिन लागेको हो।

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक र विदेशमा बसोबास गर्ने गैर-आवासीय नेपालीले आफू वा आफ्‍नो एकाघर परिवारका सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी)को नाममा खरिद गर्न सक्छन्।

साथै, मुलुक बाहिरको रोजगारीमा संलग्न भई फर्केकाले पनि फर्केको चार महिनाभित्र यो बचत पत्र खरिद गर्न सक्ने व्यवस्था छ।

यस बचत पत्रमा लगानी गर्दा ६-६ महिनामा ब्याज पाइने, चाहेको समयमा बिक्री गर्न र धितो राखी कर्जा लिन सकिन्छ।

अहिलेसम्म राष्ट्र बैंकले जारी गरेको बचत पत्रमा कुनै वर्ष पनि पूर्ण बिक्री भएको छैन। गत आवमा पनि एक अर्ब वैदेशिक रोजगार बचत पत्र जारी गरेकोमा पाँच करोड ५२ लाखको मात्रै बिक्री भएको थियो।

२०७२ साल यता हालसम्म १३ अर्ब ५८ करोडको यो बचत पत्र जारी हुँदा ६७ करोड ९२ लाखमात्र खरिद भएको छ।

बचत पत्र बिक्री नभएकै कारण राष्ट्र बैंकले एक आर्थिक वर्षमा चार पटकसम्म वैदेशिक रोजगार बचत पत्र बिक्री गर्ने प्रयास पनि गरेको थियो। तर, कुनै वर्ष पनि पूर्ण खरिददारी भएन।

यसमा तपाइको मत

Your email address will not be published.


*