चार दिनमै शेयर लागीकर्ताको सम्पत्ति १ खर्ब ८५ अर्ब थपियो, परिसूचक १३० अंक बढ्यो
लगातार चार दिन शेयर बजार उकालो लागेसँगै लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको छ । बजार बढेर ३२ सय विन्दुमा पुगेको समयमा आफ्नो आफ्नो सम्पत्ति धेरै देखेका लगानीकर्ताहरू पछिल्लो सयम बजार घट्दा तनावमा थिए । कतिपय लगानीकर्ताले त घाटा खाएरै भएपनि पेनिक सेलसमेत गरे ।
तर, आँट र हिम्मतसँगै आशा राखेर आँफूसँग भएको शेयर नबेच्ने लगानीकर्ताको सम्पत्ति भने ४ दिनको अवधिमा केही हदसम्म सुधार देखिएको छ ।
अहिले लगातार बजार उकालो लाग्न थालेको छ । यसरी बजार उकालो लाग्दा लगानीकर्ताको तनाव केही हदसम्म कम भएको छ । पछिल्लो चार दिनामा लगानीकर्ताको कुल सम्पत्ति (कुल बजार पूँजीकरण) १ खर्ब ८५ अर्ब ३० करोड रुपैयाँ बढेको छ ।
यो साताको पहिलो दिनदेखि नै बजार उकालो लागेसँगै लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार गत साताको अन्तिम कारोबार दिन बिहीबार कुल बजार पूँजीकरण ३१ खर्ब ८४ अर्ब ७६ करोड थियो । बुधबारसम्म उक्त बजार पूँजीकरण बढेर ३३ खर्ब ७० अर्ब ७ करोड रुपैयाँ पुगेको छ । ४ दिनको अवधिमा नेप्से परिसूचक पनि १३० अंकले बढेको छ ।
गत साता लगातार ३ करोबार दिन नै बजार घटेको थियो । गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २ हजार २३८ दशमलव ६२ विन्दुमा थियो भने बुधबार २ हजार ३६९ दशमलव शून्य ६ विन्दुमा छ ।
साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि लगानीकर्ताको सम्पत्ति वृद्धि हुने देखिन्छ । किन भने पछिल्लो समय बैंकको ब्याजदर नबढ्ने समाचार बाहिरिनुका साथै स्थानीय तहको निर्वाचनमा खर्च हुने पैसा बैंकिङ च्यानलमा आउने भएकाले तरलता सहज हुने देखिन्छ । यसले पनि बजारलाई बढ्न मद्दत गर्ने लगानीकर्ताको बुझाइ छ ।
शेयर विश्लेषक विष्णु प्रसाद वस्याल अझैपनि बैंकहरूको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि भएकाले तरलता सहज भइहालेको अवस्था नरहेको बताउँछन् ।
तर, स्थानीय निर्वाचनले गर्दा केही हदसम्म बजारमा पैसा आउने भएकाले त्यसले बजारमा सकारात्मक संकेत देखिन थालेको उनको बुझाइ छ ।
बजार यसअघिको जुन विन्दुबाट माथि उठेको छ, त्यो विन्दुभन्दा तल झर्ने सम्भावना नभएको पनि उनले बताए । पछिल्लोसमय कायम गरेको उच्च विन्दुमा बजार नपुगे पनि बजार २ हजार विन्दु तल झर्ने सम्भावना न्यून रहेको बस्यालको भनाइ छ ।
नेप्से परिसूचकले यसअघि भदौ २ गते हालसम्मकै उच्च विन्दु कायम गरेको थियो । उक्त दिन नेप्से परिसूचक ३ हजार १९८ विन्दुमा बन्द भएको थियो ।
तर, कारोबार अवधिमा सो दिन परिसूचक ३२ सय माथि उक्लिएको थियो । सो दिन बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड रुपैयाँ थियो । हालको बजार पूँजीकरण भदौ २ गतेको तुलनामा १० खर्ब ९८ अर्ब ४३ करोड रुपैयाँ कम हो ।