मकवानपुर गोल्डकप- आजको खेलमा नेपाल पुलिस र एपीएफ विजयी
हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको (एपीएफ) क्लब विजयी भएको छ ।
आइतबार विहान भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लब विजयी भएको छ । ए डिभिजन टोली एपीएफले फ्रेण्डस क्लब ललितपुरलाई ३–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । वर्षाका कारण हजो स्थगित खेल आज बिहान भएको थियो । एपीएफको जीतमा नवीन लामा, सविन गुरुङ र रवि थिङले गोल गरेका थिए । एकपक्षीय खेलमा एपीएफका लागि लामाले खेलको २८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए ।७६ औं मिनेटमा एपीएफका गुरुङ र खेलको अतिरिक्त समयमा थिङले गोल गरेका थिए । खेलको ५५ औं मिनेटमा फ्रेण्डस १० खेलाडीमा सीमित भयो । फ्रेण्डसका रोशन पहारीले रेडकार्ड प्राप्त गर्दै मैदान छाड्न बाध्य भएका थिए ।
त्यस्तै आजै साझ भएको अर्को खेलमा ए डिभिजन लिगको नवप्रवेशी टोली खुमलटार युवा क्बलमाथि २–१ को जीत निकाल्दै नेपाल पुलिस क्लब अघिल्लो चरणमा पुगेको छ । जित संगै पुलिस मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । पुलिसको जीतमा अभिषेक रिजाल र भरत शाहले गोल गरे । रिजालले खेलको दोस्रो मिनेट र शाहले २३ औं मिनेटमा गोल गरेका थिए ।
खुमलटारका लागि अजित लामाले ८५ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच खुमलटारका दिवस छत्याल घोषित भए । पुलिसले अन्तिम आठमा मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गरिने छ भने विधागत उत्कृष्ट खेलाडीलाइ २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक जिल्लाका १० स्थानीय तह र जिल्ला समन्वय समिति रहेको छ ।