चितवनका पत्रकार आचार्यमाथि दुर्व्यवहार
प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष पत्रकार कृष्ण आचार्यमाथि नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहको निर्देशनमा त्यहाँका कर्मचारीहरुले हातपात र दुव्र्यवहार गरेको आरोप लागेको छ ।
भरतपुरमा रहेको विद्युत् प्राधिकरणको शाखा कार्यालयभित्र भोज चलिरहेको सूचनाको आधारमा सूचना संकलन गर्न पुगेका पत्रकार आचार्यमाथि मदिराले मातिएका कर्मचारीहरुले हातपात गरेको पत्रकार आचार्यले बताएका छन् । उनले कार्यालय प्रमुख सिंहको ठाडो निर्देशनमा आफूमाथि हातपात भएको आरोप लगाए ।
भोज चलिरहेको फोटो खिचेर फर्किने क्रममा उनीमाथि मदिराले मात्तिएका कर्मचारीहरुले हातपात गर्दै उनको साथमा रहेको दुईवटा मोबाइलसमेत खोसेर लगेको पत्रकार आचार्यले बताए । आफुलाई जबरजस्ती फुत्किएर विद्युत्को कार्यालय परिसरबाट उनले बताए । उनको छाती र हातमा चोट लागेको छ ।
यसै घटनालाई लिएर नेपाल पत्रकार महासंघ र प्रेस चौतारी चितवनको सहयोगमा पत्रकार आचार्यले घटनाको दोषी पत्ता लगाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसमक्ष उजुरी दिएका छन् । पत्रकार आचार्य चितवनबाट प्रकाशित हुने सञ्चारपत्र दैनिक र नारायणी अनलाइन डटकममा आवद्ध छन् ।