प्रेस युनियनको महाधिवेशनमा महासचिव दिलीप पौडेल ‘म्यान अफ द इलेक्सन’

हेटौंडा खबर
१० श्रावण २०७९, मंगलवार १०:१९

नेपाल प्रेस युनियनको हेटौडामा सम्पन्न महाधिवेशनबाट शिव लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

अध्यक्षमा निर्वाचित लम्सालले ७४५ मत ल्याउँदा निकटम प्रतिश्पर्धी अनिता विन्दुले ६१२ मत ल्याएकी छन् । नयाँ कार्यसमितिको पदाधिकारीमा भने महासचिवमा निर्वाचित दिलिप पौडेलले पदाधिकारीमा सर्वाधिक लोकप्रिय देखिएका छन् ।

पदाधिकारीमा सबैभन्दा धेरै मत ल्याएका पौडेललाई ८७८ जनाले मतदान गरेका थिए । उनलेआफ्ना प्रतिश्पर्धीभन्दा दोब्बर मत ल्याएका छन् । पौडेलका प्रतिश्पर्धी जगन्नाथ दुलालले ४५१ मात्र मत प्राप्त गरेका थिए ।

निर्वाचित पदाधिकारी मध्ये अधिकांश लम्साल प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् । बरिष्ठ उपाध्यक्षमा लम्साल पक्षका प्रेम केसी विजयी हुँदा अध्यक्षका दावेदार भएपनि बरिष्ठ उपाध्यक्षको उम्मेदवार भएका सरोज अधिकारी पराजित भएका छन् ।

खुल्ला दुई उपाध्यक्ष मध्ये एक जना लम्साल प्यानलका नकुल अर्याल र अर्का एक जना अनिता प्यानलका भिष्मराज ओझा विजयी भएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा विजयी शलोजा दाहाल र समावेशी उपाध्यक्षमा विजयी दिपेन्द्र वान्तवा पनि लम्साल प्यानलकै हुन् ।

कोषाध्यक्षमा भने थोरै मतान्तरले अनिता समूहका माधव धिताल विजयी भएका छन् । उनले लम्साल प्यानलका रमेश वाग्लेलाई पछाडी पारेका हुन् । युनियनका कुल महाधिवेशन प्रतिनिधि मध्ये १३ सय ९२ मत खसेको थियो भने ६ मत बदर भएको थियो ।