हेटौंडामा २५ तले टावर निर्माणको तयारी
हेटौंडा उपमहानगरपालिकाले २५ तले व्यवसायिक भवन निर्माण गर्ने तयारी थालेको छ ।
हेटौंडा उपमहानगरपालिका-१० स्थित बसपार्कमा २५ तलाको व्यवसायिक भवन निर्माणका लागी डीपीआर तयार गर्ने निर्णय भएको उपमहानगरले जनाएको छ ।
‘हामीले डीपीआर तयार पार्ने निर्णय गरिसकेका छौं केहि महिना भित्रै तयार हुन्छ, बसपार्कमा रहेको उपमहानगरपालिकाको करीव ५ बिगाहा जग्गामा भवन बन्नेछ’, उपमेयर राजेश बानियाँले भने ।
अहिले रहेको हङकङ बजार, माछा-मासु बजार क्षेत्रमा रहेका संरचना हटाएर विशाल व्यवसायिक भवन बनाउने उपमहानगरपालिकाले जनाएको छ। भवनमा सात तला अन्डरग्राउण्ड पार्किङको व्यवस्था हुने बताइएको छ ।
‘हामीले उक्त भवनमा बेस्मेन्ट नै ७ तला बनाउने योजना बनाएका छौं, कति तल जान मिल्छ हामीले परिक्षण गर्छौं’, उपमेयर बानियाँले भने ।
भवनको डीपीआर शहरी विकास मन्त्रालयले निशुल्क बनाइदिने भएको उपमहानगरपालिकाले जनाएको छ । भवन बनेपछि हेटौंडाको सबै पार्किङका सवारी एकैठाउँमा राख्न सकिने बताएको छ ।