हेटौंडाबाट लागूऔषधसहित ४ जना पक्राउ
मकवानपुर प्रहरीले लागूऔषध गाँजा एक सय ६० किलो र नाईट्रोभेट ट्याब्लेटसहित ४ जनालाई पक्राउ गरेको छ ।
बिहिबार बिहान त्रिभुवन राजपथ अन्तर्गतको भैसे सडकखण्डमा बा.२० च ६८ नम्बरको हुन्डाई आइ ट्वान्टी कारलाई चेकजाँच गर्ने क्रममा उक्त कारबाट १ सय ६० किलो लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले चितवन घर भएका ४३ वर्षीय कार चालक टेकबहादुर गुरुङलाई गाडीसहित नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै प्रहरीले लागुऔषध नाईट्रोभेट र अनरेक्स सहित ३ जनालाई हेटौंडा-५ सिचाइटोलबाट पक्राउ गरेको छ । सिचाईं टोलबस्ने ३१ वर्षीय धर्मेन्द्र खेम्काले आफ्नै घरमा लागूऔषध लुकाएर विक्रीवितरण गरेको भन्ने विशेष सूचनाको आधारमा उनको घरको कोठा खानतलासी गर्दा कोठाभित्र लुकाएर राखेको लागूऔषध नाईट्रोभेट ३ सय १६ ट्याब्लेट र अनरेक्सको १४ बोतल फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा उनको बयानको आधारमा हेटौंडा–५ का २६ वर्षीय रविन श्रेष्ठ र भीमफेदी-५ घर भइ हाल हेटौंडा-५ सिचाईं टोल डेरा गरी बस्ने ३० वर्षीय प्रमोद कार्कीलाई पनि पक्राउ गरेको छ ।
प्रहरीले श्रेष्ठ र कार्कीको कोठामा लुकाएको लागूऔषध नाइट्राभेट १५ सय ४५ ट्याब्लेट र अनरेक्स ६३ बोतल फेलापारी उनीहरुलाई नियन्त्रणमा लिई प्रहरीले आज साझ सार्वजनिक गरेको हो । उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी टेक कार्कीले जानकारी दिए ।
प्रहरीले २ जना पाकेटमार र सामाजिक संजालको दुरुपयोग गरी ठगि गर्ने एकजनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार यो आर्थिक वर्षको साउन महिनामा लागूऔषध गाँजा १२ सय ४५ किलो, खैरो हेरोइन ५ ग्राम १ मिलिग्राम, डाइजेपाम ९७८ एम्पुल, नाइट्राभेट २१ सय ११ ट्याब्लेट र डाइलेक्स २३९ बोतल बरामद गरेको छ । लागुऔषधमा संलग्न २८ जनालाई पक्राउ गरेको छ भने ९ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।