हेटौंडा बजारका सिसि क्यामरा अधिकांस चल्दैनन्, न प्रहरीलाई वास्ता छ न उपमहानगरलाई
हेटौंडामा दिनदिनै चोरीका घटना बढिरहेका छन् । केहिदिन दिन अगाडी लगातार ३-४ दिनको फरकमा २ वटा मोबाइल पसल चोरी भए । एक महिलाको गलामा लगाएको एउटा सिक्री र १० हजार लुटियो सडकमै । तर यहाँका सिसि क्यामराले कुनै काम गरेन ।
बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा मुख्यबजारको शान्ति सुरक्षामा सहयोग पुग्न राखिएका सिसि क्यामरा सबै बिग्रिएका छन् । बिजुलीको पोल पोलमा राखिएका सिसि क्यामरा अधिकांस बिग्रिएकाले हेटौंडाबजारका व्यवसायी असुरक्षित त बन्दै गैरहेका छन् नै कुनै अपराधिक घटना भै हाले प्रहरीले सिसि क्यामराबाट पत्ता लगाउन सक्ने अवस्था छैन ।यहाँ भएका ४० भन्दा बढी क्यामरा मध्ये हाल ५ देखि ७ वटा मात्र चलेका छन् ।
हेटौंडामा २०७० सालमा मकवानपुर उद्योग बाणिज्य संघले जिल्ला समन्वय समिति, हेटौंडा उपमहानगरपालिका र व्यवसायीहरु संग रकम सहयोग उठाएर बजारमा ३० वटा सिसि क्यामरा जडान गरेको थियो । त्यस पछी पनि विभिन्न क्षेत्रका व्यवसायीको सहयोगमा सिसि क्यामरा मर्मत र जडान भैरहे । २०७५ सालमा बैंकर्स क्लब हेटौंडाको ४ लाख सहयोगमा सिसि टिभी मर्मत गरियो ।
त्यस्तै २०७६ सालमा ७ लाख लागतमा पुर्व मेयर हरी बहादुर महतले सिसि क्यामरा बिस्तार गरे । पुनः २०७७ सालमा ४० लाखको लगानीमा थप सिसि क्यामरा बिस्तार र मर्मत गरीयो । तर हेटौंडा उपमहानगरपालिकाको बेवास्था र जिल्ला प्रहरी कार्यालयको लापरवाहीका कारण सिसि क्यामराले काम गरेका छैनन् । भएका पनि इन्टरनेट र विभिन्न केबल कम्पनीका तारहरुमा गुजुल्टिएको छ । त्यसैले पनि अहिले हेटौंडाबजारमा शृंखलाबद्ध चोरीका घटना बढ्दै गएका छन् ।
प्रहरीको तथ्यांकअनुसार गत वर्ष हेटौंडा बजारबाट २१६ वटा मोटरसाइकल हराएको छ । विभिन्न पसल चोरी भएका विवरण प्रहरी संग छैन । गएको साउनमा मात्र ७ वटा मोटरसाइकल मात्र हराएका छन् । २-३ दिन बिराएर पसल चोरी भैरहेका छन् तर त्यसको लेखाजोखा छैन । हरेक व्यवसायीसंग व्यवसाय कर उठाउने हेटौंडा उपमहानगरपालिकाले यहाँको शान्ति सुरक्षाको दायित्वपनि केही हद सम्म लिनुपर्ने हो । मर्मतका नाममा बर्षै पिच्छे लाखौ खर्च गरेको बताउने हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रको निगरानी गर्न सकेको छैन ।जसले गर्दा हेटौंडाबाजार असुरक्षित बन्दै गएको छ ।