बागमतीमा मन्त्रालय भागबण्डा टुङ्ग्याउन मुख्यमन्त्री जम्कट्टेललाई सकस
बागमती प्रदेश सरकार गठन भएको १० दिन बितिसकेको छ । गत पुस २५ गते ५ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएका थिए । नेपालको संविधानको धारा १८२ को उपधारा २ बमोजिम प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले पुस २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । सोही दिन मन्त्रिपरिषदमा २ मन्त्री नियुक्त गरी पदभार ग्रहण गरेका उनलाई अहिले सत्ता गठबन्धन दलहरु बिच मन्त्रालय भागबण्डा टुङ्ग्याउन सकस बन्दै गएको छ ।
मन्त्रालयको भागबण्डाको निर्णय केन्द्रीय तहदेखि नै हुनुपर्ने अवस्था रहेकाले मुख्यमन्त्री जम्कट्टेलको योजना अनुसार सरकारले पूर्णता पाउन नसकेको हो । पछिल्लो समय सत्ता गठबन्धनमा आवद्ध दलहरु बिच मन्त्रालय भागबण्डाको विषयमा प्रदेश तहमा कुनै पनि छलफल नै हुन सकेको छैन । प्रदेशमा कति मन्त्रालय रहने भन्ने अन्यौल र कसले कुन मन्त्रालय पाउने भन्ने विषय पनि केन्द्रले नै निर्धारण गर्ने भएपछि सत्ता गठबन्धनका नेताहरु निर्देशनको पर्खाइमा छन् ।