बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौता

हेटौंडा खबर
१७ आश्विन २०८१, बिहीबार १८:५३

बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौता (पीएसए) भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको हो ।

उक्त सम्झौतासँगै नेपालबाट तेस्रो मुलुकमा औपचारिक रुपमा विद्युत निर्यात गर्ने बाटो खुलेको हो । बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौतामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेश पावर डेभपलमेण्ट बोर्ड (बीपीडीबी)का अध्यक्ष मो. रेजुल करिम र भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभएन)की सीईओ रेनु नारंगले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता भएसँगै नेपालले पहिलो चरणमा बंलादेशलाई ४० मेगावाट विद्युत निर्यात गर्ने भएको छ । नेपालले विगत तीन वर्षदेखि भारतमा विद्युत निर्यात गर्दै आएको छ । बंलादेशमा विद्युत निर्यातको लागि भारतका प्रशारण लाइन हुँदै लैजानुपर्ने भएकाले त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्रिपक्षीय विद्युत व्यापार सम्झौता दक्षिण एशियाको ऊर्जा सहकार्यमा कोशेढुंगा भएको दाबी गर्नुभयो । उहाँले सम्झौतासँगै ऊर्जा क्षेत्रमो सबरिजनल र रिजनल सहकार्यको ढोका खोल्ने बताउनुभयो । उहाँले बंलादेशमा प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा प्रतियुनिटका दरले बंगलादेशको बीपीडीबीलाई विद्युत निर्यात गर्ने बताउनुभयो ।