हेटौँडा-काठमाडौँ जोड्ने सबैभन्दा छोटो कुलेखानी–मातातीर्थ सडक निर्माण तिब्र

हेटौंडा खबर
२५ पुष २०७७, शनिबार ०८:१६

हेटौँडा र काठमाडौँ जोड्ने सबैभन्दा छोटो कुलेखानी–मातातीर्थ सडक खण्डको स्तरोन्नति भइरहेको छ ।

हेटौँडा र काठमाडौँ जोड्ने सडकको कुलेखानी–देउराली–मातातीर्थ–सतुङ्गल सडक खण्डको मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक चौडा गर्ने र आवश्यक संरचना निर्माण भइरहेको हो ।

हेटौँडालाई छोटो दूरीले काठमाडौँ जोड्ने यो सडक ६१ किलोमिटर लामो छ । यसमध्ये मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ मा पर्ने महालक्ष्मी दोभानदेखि काठमाडौँ जिल्लाको सतुङ्गलसम्म १५ किलोमिटर दूरीको सडक खण्डको स्तरोन्नति लगायतको काम बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयबाट भइरहेको छ ।

यातायात पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले यो आयोजनाको दुवै जिल्लातर्फ सडक चौडा गर्ने, टेवा पर्खाल निर्माण र ढल व्यवस्थापन लगायतका काम भइरहेको जानकारी दिए । उनका अनुसार पूर्वाधार विकास कार्यालय, ललितपुरले काठमाडौँको चन्द्रागिरि नगरपालिका–८, सतुङ्गलदेखि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५, मकैबारीसम्म र पूर्वाधार विकास कार्यालय, चितवनले इन्द्रसरोवर गाउँपालिका–५ मा पर्ने महालक्ष्मी दोभान–चखेल–मकैबारी खण्डको निर्माणको काम हेर्ने छ ।

महालक्ष्मी–दोभान–चखेल–मकैबारी खण्डको सडक निर्माण २०७९ जेठ १६ गतेभित्र सम्पन्न गर्ने गरी गत असार १७ गते सम्झौता भएको थियो । सोही सम्झौताअनुसार यही पुस ३ गते शिलान्यास भएपछि कामले गति लिएको हो ।
सात करोड तीन लाख ६६ हजार रुपियाँ लागत रहेको महालक्ष्मी दोभान–चखेल–मकैबारी खण्डमा सडक चौडा गरी ग्राभेल गर्ने, टेवा पर्खाल, कल्भर्ट र पक्की ढल निर्माणको काम हुनेछ । यो सडक खण्डको काम कविन्द्र एटीसी जेभीले गरिरहेको छ । निर्देशनालयका प्रवक्ताओझाका अनुसार सात किलोमिटर लम्बाइको यस सडक खण्डमा योपटक कालोपत्रे गर्ने योजना छैन ।

पूर्वाधार विकास कार्यालय, ललितपुरअन्तर्गत आठ किलोमिटर सडक खण्डमा साढे छ मिटर सडक चौडाइ गर्ने कार्य भइरहेकोमा साढे पाँच मिटर चौडाइको सडक कालोपत्रे गर्ने योजना छ । सो सडक खण्डको कामले भने गति लिनसकेको छैन । कुल २४ करोड ९४ लाख ८५ हजार रुपियाँको लागतमा गत मङ्सिर ७ गतेभित्रै कालोपत्रे लगायतका काम पूरा गर्नेगरी २०७६ जेठ १७ गते ठेकेदारसँग निर्माण सम्झौता भएको थियो ।

निर्माण कम्पनी अमर कन्स्ट्रक्सनले कोभिड–१९ का कारण काम समयमा सम्पन्न गर्न नसकेको भन्दै एक वर्ष समय थप गर्न माग गरेको छ । निर्देशनालयका प्रवक्ता ओझाले म्याद थपको प्रक्रियामा रहेको बताउँदै निर्माण कार्य भइरहेको जानकारी दिए ।

हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने सबैभन्दा छोटो दूरीको मार्ग भन्दै दुई दशकअघि ट्र्याक खोलेर निर्माण सुरु भएको हो । तर पर्याप्त बजेट नहुँदा यो सडक निर्माण सुस्त गतिमा भइरहेको थियो ।

हेटौँडाबाट भीमफेदी–कुलेखानी–महालक्ष्मी पुल (मितेरी पुल) हुँदै चखेल, देउरालीबाट काठमाडौँको मातातीर्थ, सतुङ्गल पुग्ने यो सडक हाल सञ्चालनमा रहेका र निर्माणाधीन हेटौँडा–काठमाडौँ जोड्ने सडकमध्ये सबैभन्दा छोटो छ ।

हेटौँडाबाट भीमफेदी, मार्खु, चित्लाङ, थानकोटको लम्बाइ ६७ किलोमिटर छ भने हेटौँडाबाट फाखेल खण्ड हुँदै ८० किलोमिटर र सिस्नेरी खण्ड हुँदै ८२ किलोमिटर छ । हेटौँडाबाट काठमाडौँको दूरी त्रिभुवन राजपथबाट १३२ किलोमिटर र पृथ्वी राजमार्गबाट २२४ किलोमिटर छ । यो खबर गोरखापत्र दैनिकमा राममणि दाहालले लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*