आजबाट हेटौंडामा ‘विजय यूथ हेटौंडा गोल्डकप’

हेटौंडा खबर
१६ माघ २०७७, शुक्रबार ०८:३९

आज शुक्रबारबाट हेटौंडामा ‘भिडोल विजय यूथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता सुरु हुँदैछ । एफसी विजय यूथ क्लबको आयोजनामा आजबाट हेटौंडामाको फरेष्ट्री क्याम्पसको खेल मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक विजय यूथका अध्यक्ष सुदिप राजबाहकले जानकारी दिए । उद्घाटन खेल मकवानपुर ११ र सेन्ट्रल कलेज बीएफसी भरतपुरको बीचमा हुनेछ । यस्तै १७ गते वीरगञ्ज यूनाइटेड र हर्दी युवा समाज चितवन तथा वीरगञ्ज यूथ एकेडेमी र दुधौली स्पोर्टस् क्लब सिन्धुली खेल्नेछन् ।

‘कोरोनाको कारण थला परेको खेलकुदलाई उठाउने जमर्को स्वरुप हामीले पहिलो पटक गोल्डकपको आयोजना गरेका हौं, प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ’, अध्यक्ष राजबाहकले भने ।

प्रतियोगितामा आयोजकसहित विभिन्न जिल्लाका १० समुहले सहभागिता जनाउने छन् ।

करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेता टिमले एकलाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक राजेश भेटवालले जानकारी दिए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, फरवर्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगितालाई भिडोल लुब्रिकेन्ट्सले प्रायोजन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*