दिपेन्द्रको अर्धशतकमा नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

हेटौंडा खबर
२१ चैत्र २०७८, सोमबार १४:३८

दिपेन्द्रसिंह ऐरीको अर्धशतकको सहयोगमा त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १६९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो ।नेपालका लागि दिपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ५ चौकाको सहयोगमा ५४ रन बनाए । दिपेन्द्रले योसँगै टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।  नेपालका लागि करण केसीले ३३ रन बनाए । १२ बलमा उनले ५ चौका र १ छक्का प्रहार गरे ।


यसअघि नेपालले पाँचौं ओभरको चौथो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेललाई पीएनजीका कबुआ मोरेवाले २५ रनमा क्याच आउट गराए। रोहित कुमार पौड्यल नेपालको दोस्रो विकेटको रुपमा पेवेलियन फर्किए । रोहितलाई रिने हेकुरेले २ रनमा क्याच आउट गराए ।१२औं ओभरमा नेपालले तीन विकेट गुमायो ।

१२औं ओभरको पहिलो बलमा आसिफ शेखलाई सेमो कोमेआले २६ रनमा क्याच आउट गराए । सोही ओभरको तेस्रो बलमा सेमोले नै आरिफ सेखलाई खाता खोल्न नपाउँदै क्याच आउट गराए । यसै ओभरको पाचौं बलमा दिलीप नाथलाई सेमोले बोल्ड आउट गराए ।१६औं ओभरको अन्तिम बलमा नेपालले आफ्नो छैटौं विकेट गुमायो ।

आदिल अन्सारीलाई पीएनजीका काड सोपरले १५ रनमा क्याच आउट गराए । सिरिजको अघिल्ला चार खेलमा सहज जित हात पारेको नेपाल आजको खेलमा जित निकाल्दै उपाधि आफ्नो पक्षमा बनाउने योजनामा छ ।पीएनजीले नेपालसँग सिरिजको दुई खेलमा हार ब्यहोरेको थियो । त्यसैले पीएनजी आजको खेलमा सहज जितको अपेक्षामा हुनेछ । तर, बलियो टोली नेपालविरुद्ध पीएनजीलाई जित निकाल्न सहज भने छैन् । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै सिरिज आफ्नो पक्षमा बनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*