वैशाख १ मा ‘ए मेरो हजुर ४’ भर्सेज ‘केजीएफ च्याप्टर २’

हेटौंडा खबर
२८ चैत्र २०७८, सोमबार १४:२७

वैशाख १ अर्थात् आगामी बिहीबार एकैसाथ दुई फिल्म ‘ए मेरो हजुर ४’ र ‘केजीएफ च्याप्टर २’ रिलिज हुने भएका छन् ।

सधैँजसो नयाँ वर्षमा नेपाली फिल्म मात्र रिलज हुने गरे पनि फिल्म ए मेरो हजुर ४ ले यस वर्ष भने बहुप्रतीक्षित साउथ फिल्म केजीएफ च्याप्टर २ लाई सामना गर्नुपर्ने भएको छ ।

त्यसो त नेपाली फिल्महरुले पछिल्लो समय राम्रो व्यापार गर्न नसकेको अवस्थामा फिल्म ए मेरो हजुर ४ लाई केजीएफ च्याप्टर २ सँगको प्रतिस्पर्धा निकै गार्हो हुने फिल्मी विश्लेषकहरु बताउँछन् । अहिले फिल्म ए मेरो हजुर ४ का स्टारकास्टहरु आफ्नो फिल्मको प्रोमोसनमा निकै व्यस्त देखिएका छन् ।

ए मेरो हजुर ४ :

ट्रेलर हेरेर सबैले सहजै अनुमान लगाउन सकिन्छ कि ए मेरो हजुर ४ प्रेम कथामा आधारित फिल्म हो । यस फिल्ममा केही मात्रामा भए पनि आफ्नो मौलिकता र संस्कृतिलाई दर्शाउन पाटनको नेवारी समुदायको संस्कार र संस्कृतिलाई चित्रण गरिएको छ । अभिनेत्री झरना थापाद्वारा निर्देशित चलचित्रमा अनमोल केसी र सुहाना थापाको मूख्य भूमिका रहेको छ ।

केजीएफ च्याप्टर २ :

एसएस राजा मौलीद्वारा निर्देशित कन्नड चलचित्र केजीएफ च्याप्टर २ मा कन्नड सुपरस्टार यश मुख्य भूमिकामा छन् भने सञ्जय दत्त, रविना टण्डन र प्रकाश राजजस्ता ठूला कलाकारको पनि अभिनय रहेको छ ।

यो फिल्म मूलतः कन्नड भाषामा बनेको हो । यसको पहिलो भाग कन्नड, हिन्दी, तेलुगु र तामिल भाषामा रिलिज भएको थियो । त्यसपछि भारतलगायत अन्य देशमा पनि व्यापक चर्चा भएको थियो ।

आगामी बिहीबार रिलिज हुन लागेका दुई फिल्म ए मेरो हजुर ४ र केजीएफ च्याप्टर २ को अग्रीम टिकट बिक्री सुरु भएको छ । रिलिजको ६ दिनअघि नै टिकट बिक्री थालिएको हो ।

शनिबारदेखि नै एड्भान्स टिकट बिक्री गरिएको नेपाली फिल्म ए मेरो हजुर ४ लाई क्यूएफएक्सले २६ शो दिएको छ भने केजीएफ च्याप्टर २ लाई ७४ शो दिएको छ । यसको तुलनामा केजीएफको शो संख्या झण्डै ३ गुणाले बढी छ । केजीएफ २ ले नेपाली फिल्म इतिहासमा कीर्तिमानी कायम गर्ने संकेत देखिएको छ ।

बढ्दो साउथ फिल्मको क्रेजका कारण पनि नेपाली फिल्महरु छायाँमा परेका छन् । धेरैजसो दर्शकहरु नेपाली फिल्मको कथा राम्रो नभएका कारण साउथ फिल्मतिर आकर्षित भएको बताउँछन् । पछिल्लो समयमा बाहुबली, केजीएफ र आरआरआरजस्ता फिल्मले गर्दा दर्शकहरुले नेपाली फिल्ममा त्यति चासो नदिएको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*