मकवानपुरमा गठबन्धनमा सकस : ५ प्रमुख, ४ उप-प्रमुख र ४६ वडामा माओवादीको दावी (भिडिओ)

हेटौंडा खबर
४ बैशाख २०७९, आईतवार १८:१७

मकवानपुरमा भागबण्डा मिलाउन गठबन्धनलाई निकै सकस परेको छ । एमालेले अधिकांस स्थानीय तहमा उम्मेदवारहरु टुंगाएर घरदैलोमा हिँडिसकेको अवस्थामा गठबन्धनलाई भने उम्मेदवार छनौटमै हम्मेहम्मे परेको छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धनका दल भागबण्डा मिलाउन लामो समयदेखि नियमित बैठकमा बसेका छन् । भागबण्डा मिलाउन गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीका जिल्ला नेतृत्व सहमतिको प्रयासका लागि दैनिक छलफलमा जुट्दै आएका छन् ।तर, गठबन्धनभित्रका दलको आ–आफ्नो दावीका कारण सहमति हुन सकेको छैन ।

उता गठबन्धनमा सहभागी एकीकृत समाजवादीले शनिबार साझ हेटौंडा उपमहानगरको प्रमुख, उपप्रमुख र १९ वटै वडा अध्यक्षको नाम जिल्ला कमिटीमा सिफारिस गरेपछि गठबन्धन सहमति तिर छैन कि भन्ने आशंका उब्जाएको छ ।

कांग्रेसका अनुसार माओवादी केन्द्रले आफ्नो दावीबाट लचिलो नभएकाले हिजो बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो । उता माओवादी केन्द्रले भने गठबन्धनमा सहमतिको प्रयास चलिरहेको बताएको छ ।

मकवानपुरमा माओवादीले ५ वटा स्थानीय तहको प्रमुख र ४ वटा स्थानीय तहको उपप्रमुख दावी गरेको छ त्यस्तै ४६ वटा वडामा अध्यक्षमा आफ्नो दावी रहेको माओवादी केन्द्र मकवानपुरका सचिव भिम पाख्रिनले जानकारी दिए । माओवादीले मागेजति भाग नपाए एक्लै चुनाव लड्छ ? भन्ने हाम्रो प्रश्नमा उनले भने,’ मकवानपुरमा मात्र एक्लै जाने भन्ने हुदैन, अन्तिम सम्म पनि गठबन्धनलाई नै अघि बढाएर सहमतिमा जाने हाम्रो प्रयास हो’ ।

गत निर्वाचनमा जितेका गाउँपालिका सम्बन्धित दलले पाउने गठबन्धनको सहमति भएपनि मकवानपुरमा ३ वटा गाउँपालिका र वडामा भागबण्डा मिलेको छैन । गत निर्वाचनमा कांग्रेसले बकैया र राक्सिराङ गाउँपालिका, माओवादीले थाहा नगरपालिका र बागमती गाउँपालिका जितेको थियो ।

त्यस्तै एमालेबाट विजयी भएका कैलाश र इन्द्रसरोवर गाउँपालिका अध्यक्ष पार्टी विभाजनसँगै एकीकृत समाजवादीमा समाहित भएसँगै तीन दलले दुई–दुई वटा पालिका पाउने भएका छन् । बाकी पालिकामा भने भागबण्डा मिलाउन सकस परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*