आइपिएलमा भुवनेश्वरले बनाए कीर्तिमान

हेटौंडा खबर
५ बैशाख २०७९, सोमबार १२:३७

सनराइजर्स हैदराबादका बलर भुवनेश्वर कुमारले इन्डियन प्रिमियर लिग (आइपिएल) १५० विकेट पूरा गरेका छन् । उनले आइतबार भएको खेलमा पञ्जाब किंग्सविरुद्ध तीन विकेट लिँदै यो सफलता हात पारेका हुन् ।

योसँगै उनी आइपिएलमा १५० विकेट लिने पहिलो भारतीय तीव्र गतिका बलर बने । २०११ देखि आइपिएल खेल्न थालेका भुवनेश्वरले १३८ खेलमा १५० विकेट हात पारेका हुन् ।

उनले पुणे वारियर्सका लागि डेब्यु खेलमै तल्कालीन किंग्स–११ पञ्जाब (हाल पञ्जाब किंग्स) का सन मार्सलाई पहिलो तथा पञ्जाब किंग्सका लियाम लिभिङस्टोनलाई १५० औं सिकार बनाए ।

भुवनेश्वरले २०१७ को सिजनमा २७ विकेट हात पारेका थिए । यो नै उनले आइपिएलको एकै सिजनमा हात पारेको सर्वाधिक विकेट संख्या हो । उनले जारी सिजनमा ६ खेलमा आठ विकेट लिएका छन् ।

समग्रमा भने उनी आइपिएलमा १५० विकेट लिने तेस्रो तीव्र गतिका बलर हुन् । यसअघि लसिथ मालिंगा र ड्वेन बाभ्रोले यो सफलता हात पारिसकेका छन् ।  भुवनेश्वर यो सफलता हात पार्ने समग्रमा सातौं तथा चौथो भारतीय बलर हुन् ।

यसअघि भारतका हरभजन सिंह, पियुष चावला र अमित मिश्राले आइपिएलमा १५० विकेट लिइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*