२० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णय कार्यान्वयनमा

हेटौंडा खबर
५ बैशाख २०७९, सोमबार १४:३२

सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। ३० चैतमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको थियो ।

इन्धन खर्च कटौति गर्ने सम्वन्धी सूचना जारी गर्दै अर्थ मन्त्रालयले भनेको छ, ‘अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसदमा प्रस्तुत वक्तव्यको बुँदा नं. १५ मा प्रशासनिक र इन्धन खर्चमा १० प्रतिशतले कटौति गर्ने उल्लेख भएकोमा बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको संचितिमा परेको चापलाई मध्येनजर गर्दै चालु आ.व. २०७८/७९ मा इन्धन शीर्षकमा विनियोजित बजेटमा थप कटौति गर्ने गरी नेपाल सरकार, मन्त्रिपरिषद्‍बाट मिति २०७८/१२/३० मा देहायबमोजिमको निर्णय भएको हुँदा सो बमोजिम खर्च व्यवस्थापन गर्ने प्रयोजनको लागि सम्वन्धित सवैको जानकारीका निम्ति यो सूचना प्रकाशन गरिएको छ । ‘

इन्धन शीर्षकमा विभिन्न मन्त्रालय/निकाय तथा  सरकारसँग सम्वद्ध सार्वजनिक संघ संस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौति गर्ने निर्णय गरेको हो । यो निर्णय विकास आयोजनाहरु, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय निर्वाचन प्रयोजनका लागि लागू नहुने अर्थमन्त्रालयले भनेको छ ।

छुट्टै ऐनबाट इन्धन सुविधा प्राप्त गर्ने पदाधिकारीहरुको इन्धन सुविधा २० प्रतिशतले कटौति गर्न अनुरोध गर्ने निर्णय गरेको छ । यो कटौति हाललाई २०७९ असार मसान्तसम्म लागू हुने सूचनामा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*