जेठदेखि शुक्रबार सेयर कारोबार खुल्ने
आइतबार बिदा दिने सरकारी निर्णयले सेयर कारोबारको दिन नघट्ने
जेठ १ देखि शुक्रबार पनि सेयर कारोबार खोल्ने तयारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गरेको छ । सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले शुक्रबार सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो । शनिबार र आइतबार कारोबार बन्द हुनेछ ।
आइतबार सार्वजनिक बिदा हुने भएपछि शुक्रबार सेयर कारोबार सञ्चालन गर्ने गरी छलफल भएको र छिट्टै सञ्चालक समितिबाट निर्णय गरिने नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बताए । ‘यसमा खासै समस्या छैन, जेठ १ देखि आइतबार बन्द र शुक्रबार कारोबार नियमित हुन्छ,’ उनले भने, ‘सोही अनुसार कारोबार प्रणाली व्यवस्थापन गर्न आन्तरिक रुपमा निर्देशन गइसकेको छ ।’
हाल सातामा दिन पाँच दिन (आइतबार देखि बिहीबारसम्म) सेयर कारोबार हुँदै आएको छ । जसअनुसार शुक्रबार र शनिबार सेयर किनबेच बन्द हुन्छ । आइतबार बिदा दिने सरकारको निर्णय कार्यान्वयनमा आएपछि कारोबार दिन नघटोस् भन्ने उद्देश्यले नेप्सेले शुक्रबार नियमित रुपमा सेयर बजार खुला गर्ने भएको हो ।