ई-सिमका लागि टेलिकमले गर्यो सम्झौता
नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम उपलब्ध गराउने भएको छ । यसका लागि नेपाल टेलिकम र मोन्टी युके ग्लोबलबीच गत आइतबार ( ११ बैशाख) मा सम्झौता भएको एनटीसीले जानकारी दिएको छ । सम्झौताअनुसार मोन्टी युकेले नेपाल टेलिकमका ग्राहकलाई ई–सिम सेवा उपलब्ध गराउन आवश्यक प्लाटफर्म उपलब्ध गराउनेछ ।
सम्झौता-पत्रमा टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युकेका स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले हस्ताक्षर गरे । टेलिकमका अनुसार ई–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेजस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई–सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।
मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरूमा समेत प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । हालका सबै प्रयोगकर्ताले ई–सिम प्रयोग गर्न सक्ने र नयाँ प्रयोगकर्ताले समेत सहज तरिकाले ई–सिम लिन सक्ने बताइएको छ ।