हेटौंडामा बर्डफ्लु, ३ हजार बढी कुखुरा नष्ट

हेटौंडा खबर
१६ बैशाख २०७९, शुक्रबार १३:०९

हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीको एक पोल्ट्री फर्ममा बर्डफ्लु पुष्टि भएपछि ३ हजार ४५३ वटा कुखुरा नष्ट गरिएको छ ।

बिहीबार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु पुष्टि भएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडा, मकवानपुर कुखुरा व्यवसायी संघ, जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रतिनिधि लगायतको उपस्थितिमा कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो ।

सो फार्ममा पालिएको ३ हजार ४५३ वटा कुखुरा, ५ हजार ७८० वटा अण्डा र ४५० केजी दाना नष्ट गरिएको विज्ञ केन्द्रका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले बताए । खड्काको फर्ममा पालिएको कुखुरामा बर्डफ्लुको शंका भएपछि वैशाख ९ गते नमुना संकलन गरी परीक्षणका लागि पशुसेवा विभाग काठमाडौं पठाइएको थियो । नमुना संकलन गरेको ७ दिनपछि बिहीबार बर्डफ्लु प्रमाणीकरण भएको रिपोर्ट आएको उनले बताए ।

रिपोर्ट पोजेटिभ आएलगत्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आकस्मिक बैठक बसेर बर्डफ्लु प्रमाणित भएको फार्मको कुखुरा नष्ट गरिएको डा.ठाकुरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*