हेटौंडा २ का वडा अध्यक्ष उम्मेदवार महर्जनको प्रतिवद्धता : ढल व्यवस्थापनदेखि निशुल्क एम्बुलेन्स र स्वास्थ्य बिमा

हेटौंडा खबर
१७ बैशाख २०७९, शनिबार १६:२४

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षका उम्मेदवार बिष्णु गोपाल महर्जनले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता महर्जनले आज संचारकर्मीहरुको उपस्थितिमा आफुले जितेपछी वडाको विकासका लागि ५ बर्षमा गर्ने कामहरुबारे लिखित घोषणापत्र सार्वजनिक गरेका हुन् ।

आफुले जिते हेटौंडा-२ मा शिक्षा सँगै स्वास्थ्य र विकास निर्माणलाई प्राथमिकताका राखेर काम गर्ने बताए ।

उनले सार्वजनिक गरेको प्रतिवद्धता पत्र यस्तो छ 

हेटौंडाको वडा नं. २ को अव्यवस्थित भएको ढल व्यवस्थित गरिनेछ ।

सडक नभएको ठाउँमा सडक निर्माण गर्ने, नियमित सडक मर्मत सम्भार गर्ने र दैनिक सफाई गरी जनस्वास्थ्यमा विशेष ध्यान दिइनेछ ।

२ नं. वडा अन्तर्गतका सडकहरुको सडक अधिकार क्षेत्रभित्रका जग्गाहरुको लगत कट्टा गरी हाल साविक गरिनेछ ।

वडा नं. ५ र २ को सिमाना खोल्सीमा वडा नं. ५ सँग सहकार्य गरी तटवन्धन र पैदलमार्ग निर्माण गर्न बहुवर्षिय योजना तयार गरी शुरुवात गरिनेछ ।

खेलाडी उत्पादनका लागि तालिम तथा खेलकुद आयोजना गरिनेछ । साथै उपयुक्त स्थान भेटिएमा खुला व्यायामशाला निर्माण गरिनेछ ।

जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरी बृद्धबृद्धाहरुलाई विभिन्न क्रियाकलापमा संलग्न गराइनेछ ।

शहरी स्वास्थ्य केन्द्र स्तरीकरण गर्ने, वडाभित्रका सम्पूर्ण जेष्ठ नागरिक तथा दीर्घ रोगीहरुको डाटा कलेक्सन गरी रेकर्ड राख्ने र आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने । आवाशीय क्रियापुत्री निर्माणका लागि पहल गरी शुरुवात गर्ने ।

नेपालको संविधानले सुरक्षित गरेको शिक्षाको अधिकारबाट हाम्रो वडाको कुनैपनि बालवालिका बञ्चित नहोस् भन्नाका लागि राज्यले निःशुल्क भन्दाभन्दै पनि तिनुपर्ने शुल्कहरु गरीव तथा अति विपन्नवर्गका विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने र जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति उपलब्ध गराउने ।

हेटौंडाको पुरानो इतिहास बोकेको सिद्धार्थ स्कुललाई अझ व्यवस्थित र उत्कृष्ट बनाउनुको साथै हाम्रो वडामा एउटा Library र Digital Library स्थापना गरिनेछ । महिला उद्यमशीलता विकास तालिम संचालन गर्दै आयआर्जनको पाटोमा सशक्तिकरण गरिनेछ ।

वैदेशिक रोजगारका लागि उपयुक्त हुने खालको छोटो अवधिको प्राविधिक शिक्षा उपलब्ध गराइनेछ । गरीव तथा अति विपिन्न परिवारको पहिचान गरी निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ, त्यस्तै खानेपानी/बत्तीको न्यूनतम महशुल र स्वास्थ बीमा निःशुल्क गराइनेछ ।

हेटौंडा नगरको परिकल्पनाकार बासुदेव रिजालको संगमचोक स्थित प्रतिमा उचित व्यवस्थापन र संरक्षण नभएको हुँदा व्यवस्थित तथा उचित संरक्षण गरिनेछ । वनस्खण्डी वन सेवा क्षेत्रभित्रको मठमन्दिर धार्मिक क्षेत्रलाई एकीकृत गरी पर्यटकीय धार्मिक क्षेत्रको रुपमा विकास गरिनेछ ।

हाम्रो वडा बहुजातीय-बहुधार्मिक बासिन्दाले भरिएको ठाउँ हो, हरेक जातजाति, धर्म समुदायको आफ्नो रीतिरिवाज, परम्पराको जर्गेना गरिनेछ र हेटौंडा उपमहानगरपालिकाको एक मात्र जात्रा पर्वको रुपमा भएको कृष्ण जात्रालाई अझ व्यवस्थित र हाम्रो नगरको नै शानको रुपमा हुने गरी मनाउने व्यवस्था गरिनेछ।

यसमा तपाइको मत

Your email address will not be published.


*