हेटौंडा २ का स्वतन्त्र उम्मेदवार राजबाहकले सुरु गरे घरदैलो अभियान
हेटौंडा उपमहानगरपालिका वडा नं २ को अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका सुदीप राजबाहकले चुनावी प्रचारप्रसार अन्तर्गत् घरदैलो अभियान सुरु गरेका छन् ।
नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजबाहकले १३ बुँदे घोषणापत्र जारी गर्दै घरदैलो अभियान सुरुवात गरेका हुन् । आफ्नो पक्षमा युवा र ज्येष्ठ नागरिकको समर्थन रहेको दाबी गर्दै उनले सहजै चुनाव जित्ने दाबी गरेका छन् ।
आफ्नो प्रतिबद्धता पत्र पनि सन्तुलित रहेको र मत माग्ने क्रममा सवैबाट सकारात्मक प्रतिक्रिया आएको राजबाहकले बताए । उनले आफ्नो प्रतिबद्धता पत्रमा खेलकुद र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिएका छन् ।
उनले खेलक्षेत्रमा प्रतिवर्ष दशलाख रुपैयाँ विनियोजन गर्ने बताएका छन् । ‘हेटौंडा–२ लाई पूर्णरुपमा लागूऔषध सेवनमुक्त क्षेत्रको बनाउने, वडाको सम्पूर्ण महिला र ज्येष्ठ नागरिकको निस्शुल्क स्वास्थ्य वीमा गर्ने, हेटौंडा–२, बासुदेव मार्ग र वनस्खण्डी रोडसहित सम्पूर्ण भित्रि सडकहरुको आवश्यकता अनुसार स्तरोन्नति गरिने आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् ।
‘मुख्यमन्त्रीको निवासदेखि चौकीटोलसम्म वनको बाटोमा ‘वाकिङ स्ट्रिट’ निर्माण गरिने, वडाको सम्पूर्ण ढलहरु व्यवस्थित गरिने उनको घोषणा पत्रमा उल्लेख छ ।
‘वेरोजगार र गरिवीको रेखामुनी रहेकाहरुलाई निस्शुल्क खाद्यान्न उपलब्ध गराउने, सीपमूलक तालिम प्रदान गरी विदेश जान र स्वरोजगार बन्न इच्छुक व्यक्तिलाई वडा तहबाटै विनाधितो सस्तो व्याजदरमा ऋण प्रदान गर्ने व्यवस्था गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा उनी कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।