हेटौंडामा गठबन्धनको प्रतिबद्धता : खानेपानी, बिजुली निशुल्क, वडा-वडामा डाक्टर, फुलैफुलको बगैंचा
हेटौंडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको नेतृत्व लिँदा गर्ने कामहरुको बारे प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।
मंगलबार हेटौंडामा एक कार्यक्रमकाबीच गठबन्धनले संयुक्त रुपमा प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । प्रतिवद्धतापत्रमा उपमहानगरपालिकाबासीलाई ३ सय युनिटसम्मको बिजुली निशुल्क प्रदान गर्नेदेखि प्रत्यक वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख छ ।
ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगी स्वास्थ्य सेवा दिइने, एक घर एक रोजगारी, व्यावसायिक कार्यका लागि सिप विकास, सहुलियत ऋण, बजार व्यवस्थापनको लागि सहयोग जस्ता प्रतिवद्धता जनाइएको छ ।
त्यस्तै हेटौंडामा हरेक घरमा मासिक १० हजार लिटर खानेपानी निशुल्क गर्ने, हेटौंडा विकास प्राधिकरण गठन गर्ने तथा नगर यातायातको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।
हरेक वर्ष कम्तीमा ५ जनालाई एमबीबीएस अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्नुका साथै सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मीको व्यवस्था, नगरभित्रका नदी खोलाहरुको व्यवस्थापन गरी अस्थायी स्वीमिङ पुल निर्माण, जलबिहार तथा पार्कहरु निर्माण गरी पर्यटनमैत्री नगर बनाउने योजना गठबन्धनको प्रतिदद्धता पत्रमा उल्लेख छ ।
धार्मिक क्षेत्रहरुको सुधार तथा पर्वद्धन गर्नुका साथै हरेक वडामा फलफूलको बगैचा बनाउने, नगरमा सुविधासम्पन्न सार्वजनिक शौचालयको निर्माण तथा व्यवस्थापन, भोकाहरुकोे खानाको व्यवस्थापन, नगरस्तरीय प्रज्ञा प्रतिष्ठान स्थापना लगायतका कुरा उल्लेख गर्दै गठबन्धनले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा गठबन्धनबाट मेयर पदका उम्मेदवार मीना लामा, उपमेयर पदका उम्मेदवार राजेश बानियाँ, नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादीका नेता केदार न्यौपाने, विरोध खतिवडा, नेकपा माओवादी केन्द्रकी नेतृ प्रमिला पुलामी, प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, नेपाली कांग्रेस मकवानपुरका सभापति वुद्ध लामालगायतको उपस्थिति थियो ।