मतपत्र ढुवानीको काम शुक्रबारसम्म सकिने
निर्वाचन आयोगले शुक्रबारसम्ममा मतपत्र ढुवानीको काम सकिने जनाएको छ । आयोगको निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाका उपसचिव ऋषिराम भुसालले आगामी शुक्रबारम्ममा देशभरका ७७ वटै जिल्लामा मतपत्र ढुवानीको काम सकिने जानकारी दिए ।
उनका अनुसार, हालसम्म आयोगले ६५ जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको छ । प्रदेशको १ को मोरङ, मधेस प्रदेशका केही जिल्ला र बागमती प्रदेशको चितवनमा मतपत्र ढुवानी गर्न बाँकी रहेको छ । आयोगले निर्वाचन सम्पन्न गर्न अन्य आवश्यक काम यसअघि गरिसकेको छ ।
यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कूल मतदाता संख्या एक करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका छन् । तीमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र अन्य १८३ जना रहेका छन् ।