हेटौंडामा राती ८ बजेपछि रक्सी खान, बेच्न नपाइने, चुनाव प्रचार ७ बजेपछि बन्द
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबारदेखि लागु हुनेगरी साझ ८ बजेपछि मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न सुचना जारि गरेको छ ।
आसन्न स्थानीय निर्वाचन आचारसंहितालाई थप प्रभावकारीरूपमा पालना गर्न, गराउन तथा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्न आज जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै देहायका कुराहरु पालना गर्न आग्रह गरेको छ ।
१. निर्वाचन आचारसंहितालाई पूर्णरूपमा सबै पक्षले पालना गर्नु, गराउन हुन, राजनीतिक दल तथा उम्मेदवारहरूले आचारसंहितामा तोकिए अनुरूप मात्र झण्डा लगायतका निर्वाचन प्रचार-प्रसारका सामग्रीहरू प्रयोग गर्नुहुन ।
२. साँझ ७:०० बजेपछि कुनै किसिमका निर्वाचन प्रचार-प्रसारका कार्यहरू नगर्नु, नगराउनु हुन ।
३. मिति २०७९-०१-२४ गतेदेखि लागू हुने गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि बेलुकी ८:०० बजेपछि मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवन गर्ने कार्य नगर्न, नगराउनु हुन ।
४. ठूलो आवाजमा माइकिङ्ग गरी ध्वनी प्रदूषण गर्ने कार्य तत्काल बन्द गर्नु, गराउनु हुन ।
५. विभिन्न किसिमका सञ्चार माध्यम, सामाजिक सञ्जाल आदि मार्फत राजनीतिक दल, उम्मेदवार, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी लगायत कोही कसैप्रति लक्षित गरी गालीगलौज गर्ने, अफवाह फैलाउने, भ्रामक सूचना र निर्वाचन विरोधी सन्देश प्रवाह गर्ने जस्ता अवाञ्छित गतिविधिहरू नगर्नु, नगराउनु हुन ।
प्रशासनले यस सूचना विपरितका कार्य, प्रचलित कानून तथा निर्वाचन आचारसंहिता विपरितका कार्य एवं निर्वाचन विरोधी कुनै किसिमका गतिविधि भएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने जनाएको छ ।