मकवानपुरमा साँझ ७ बजेपछि निर्वाचन सम्बन्धी प्रचारप्रसार नगर्ने सहमति
आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दलहरू निर्वाचन लक्षित तयारी गरेका छन् ।
मकवानपुरमा विभिन्न राजनीतिक दलहरुबीच निर्वाचन सम्बन्धी आचारसंंहिता पालना गर्ने, गराउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको सर्वदलीय बैठकले यस्तो सहमति गरेको हो । निर्वाचन आचारसंहितालाई थप प्रभावकारीरुपमा पालना गर्न, गराउन, स्वच्छ, निष्पक्ष, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सहयोग पुर्याउनका लागि सम्पर्ण राजनीतिक दलहरुबीच पाँच बुँदे सहमति भएको मकवानपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताए ।
सर्वदलीय संयन्त्रको बैठके चुनावी प्रचारप्रसारमा ठूलो आवाजमा माइकिङ गरी ध्वनी प्रदुषण गर्न तत्काल बन्द गर्ने, साँझ ७ बजेपछि निर्वाचन सम्बन्धी कुनै प्रचारप्रसार नगर्ने, बेलुका ८ बजेपछि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्ने सहमतिमा निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रले बताए ।
त्यस्तै राजनीतिक दलका उम्मेदवारले आचारसंहितामा तोकिए अनुरुपको झण्डा निर्वाचन सम्बन्धी प्रचारप्रसारको प्रयोग गर्ने र सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट राजनीतिक दल, उम्मेदवार, मतदाता निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी लगायतलाई लक्षित गरेर भ्रम फैलाउने सूचना र निर्वाचन विरोधी गतिविधिमा संलग्न नहुने निर्णय भएको छ ।
निर्वाचन नजिकिँदै गर्दा जिल्लामा आचारसंहिता उल्लंघनका घटनाहरू तीव्र रूपमा हुनथालेपछि सर्वदलीय संयन्त्रको बैठकमा यस्तो निर्णय गरिएको गैह्रेले बताए ।