प्रचण्डलाई जुत्ता हान्छु भनेर स्टाटस लेखेको आरोपमा अनलाइन सञ्चालक पक्राउ

हेटौंडा खबर
२५ बैशाख २०७९, आईतवार १२:४५

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता हान्छु भन्दै आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेख्ने एक जना अनलाइन सञ्चालक पक्राउ परेका छन्।

दाङको तुलसीपुरबाट सञ्चालन हुँदै आएको राप्ती पहिचान डटकमका सञ्चालक यज्ञबहादुर बुढा मगर पक्राउ परेका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुकी पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सेतोपाटीलाई बताए।

गठबन्धन दलहरूले आइतबार तुलसीपुरको अरनिको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनावी सभा राखेको छन्। ती कार्यक्रमलाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत गठबन्धन दलका शीर्ष नेताहरू दाङ आउन लागेका छन्।

मगरले आफ्नो सामाजिक सञ्जालमा ‘सकेनन् चितवनवासीले मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर स्टाटस लेखेका थिए। त्यसबारे माओवादी केन्द्रका नेताहरूबाट गुनासो आएपछि प्रहरीले अनलाइन सञ्चालक मगरलाई पक्राउ गरेको थियो।

एसपी काफ्लेका अनुसार यसअघि पनि अनलाइन सञ्चालक मगरविरूद्ध जिल्ला अदालत सुर्खेतले गत पुसमा पाँच महिना कैद र पाँच हजार जरिमानाको फैसला सुनाएको थियो।

उतिखेर मगरले पीडित राउटे समुदायका युवतीको पहिचान खुलाएर अनलाइनमा समाचार र फेसबुकमा स्टाटस लेखेका थिए।
पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*