स्वास्थ्य संस्था/स्वास्थ्यकर्मीमाथि आक्रमण गरे पाँच वर्षसम्म कैद
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरिन् ।
तीमध्ये स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षसम्बन्धी अध्यादेश स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गरी जारी गरिएको हो । अध्यदेशमा मूल ऐनको दफा ३ मा संशोधन गरी आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी गर्न वा उपचारमा बाधा पार्न नहुने उल्लेख छ ।
कसुर र सजायसम्बन्धी व्यवस्थामा ‘कसैले दफा ३ बमोजिमको कुनै कार्य गरेमा यस ऐनअन्तर्गतको कसुर गरेको मानिनेछ’ भनिएको छ । कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राखिने र थप सजायको प्रक्रिया अघि बढाइनेछ ।
अध्यादेशमा यसरी छुट्याइएको छ कसुरअनुसारको सजाय
१. स्वास्थ्य संस्थामा आगजनी गरेमा दुईदेखि पाँच वर्षसम्म कैद वा दुईदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ।
२. स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि–नोक्सानी पुर्याएमा तीन वर्षसम्म कैद वा तीन वर्ष जरिवाना वा दुवै सजाय हुन सक्ने ।
३. स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गरेमा वा शारीरिक रूपमा चोट पुर्याएमा तीन वर्षसम्म कैद वा तीन वर्ष जरिवाना वा दुवै सजाय हुन सक्ने ।
माथि उल्लेखित तीनवटै कसुरमा अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राखिने व्यवस्था अध्यादेशमा छ । यस्तै, अरू तीन कसुरमा एउटै सजाय हुने गरी अध्यादेशमा व्यवस्था छ ।
१. स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गरेमा,
२. स्वास्थ्य संस्थामा उपचारका लािग आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्याएमा,
३. स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात, कुनै किसिमको धम्की, गालीगलौज अभद्र वा अपमानजनक व्यवहार गरेमा ।
यी तीन कसुर गरेको हकमा एक वर्ष कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा यी दुवै सजाय हुन सक्ने व्यवस्था अध्यादेशमा छ ।