मनहरीमा एमाले कार्यकर्ताद्वारा कांग्रेस वडा सचिवमाथि आक्रमण, प्रहरीमा उजुरी

हेटौंडा खबर
२७ बैशाख २०७९, मंगलवार १२:१४

स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेस मनहरी गाउँपालिका ९ नम्बर वडा सचिवमाथि आक्रमण गरेका छन् ।

गएराती करिब साढे ११ बजेको समयमा एमालेका कार्यकर्ताले कांग्रेस ९ नम्बर वडा सचिव शिवराज गिरीलाई अपशब्द प्रयोग गर्दै कुटपिट गरेका हुन् । गिरीले कांग्रेसका नेताहरुको उपस्थितिमा घटनाको बिषयमा ईलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दर्ता गराउनुको साथै पत्रकार सम्मेलन समेत गरेका छन् ।

“राती घरमा सुतिरहेको थिएँ, करिब साढे ११ बजेको समयमा मोटरसाइकल र गाडीमा आएका एमालेका युवाहरुले हर्न बजाउदै अपशब्द बोल्न थालेपछी रातको समयमा किन यस्तो गरेको भन्दा ममाथी आक्रमण गरियो”, गिरीले भने, ” कृष्ण उप्रेती, नकुल उप्रेती, ठाकुर अधिकारी लगायतले आक्रम गरेर भागेका हुन् । योजनामै आक्रमण गरिएको भन्ने मेरो बुझाई छ ।” घटनापछी एमालेको तर्फबाट ९ नम्बर वडा अध्यक्षको उम्मेदवार लक्ष्मण उप्रेतीले आक्रमण गर्ने युवाहरुलाई लिएर गएको गिरीले बताए ।

एमालेका कार्यकर्ताको आक्रमणबाट आफूलाई कानमा चोट लागेको उनले बताए । घटनाको बिषयमा कांग्रेस वडा सभापति एवम् ९ नम्बर वडा अध्यक्षका उम्मेदवार राजकुमार श्रेष्ठले दोषी उपर कडा कारबाही हुनुपर्ने माग गरे ।

“आक्रमण, हातपात र डरत्रास देखाएर होइन जनताको मन जितेर चुनाव जित्नुपर्छ”, श्रेष्ठले भने, “हामी चुनावपछी पनि यहि वडामा बस्नुछ । झैझगडा नगरम, मित्रवत प्रतिस्पर्धा गरौं ।” यस्तै कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाले कांग्रेसका उम्मेदवार राजकुमार श्रेष्ठको पक्षमा माहौल देखिएपछि बिरोधी आत्तिएर आक्रमणमा उत्रिएको बताए । “हामी जिम्मेवार छौं । कमजोर भएर चुप बसेका होइनौं । प्रहरी प्रशासनले सुरक्षा दिन्छ भन्नेमा बिस्वस्त छौं”, बर्तौलाले भने, ”

मध्यरातको समयमा मोटरसाइकलमा दौडिनुको उधेश्य के हो ? दोषीलाई प्रशासनले कारबाही नगरे हामी पनि हातमा दही जमाएर बस्दैनौं ।” यो घटनाले थप दुर्घटना बढेमा त्यसको जिम्मेवारी एमालेले लिनुपर्ने उनले चेतावनी दिए ।

जनता पैसामा नबिकेपछी डर त्रास, धम्की देखाउन खोजिएको उनको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*