मतदान केन्द्रतर्फ लागे म्यादी प्रहरी
शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मकवानपुरका म्यादी प्रहरी आफ्नो कार्य क्षेत्रतर्फ लागेका छन् ।
निर्वाचन कार्यालय मकवानपुरले १ हजार ३ सय २२ जना म्यादी प्रहरी माग गरेअनुसार उनीहरूलाई तालिम पछि आज कार्य क्षेत्रमा खटाइएको हो ।
४० दिन खटिने म्यादी प्रहरीले तलब सुविधा ३० हजार २ सय ४० रुपैयाँ, रासन भत्ता ७ हजार २ सय रुपैयाँ, पोसाक भत्ता ६हजार रुपैयाँ र निर्वाचन स्थलमा खटिन एक हजार रुपैयाँ यातायात खर्च पाउनेछन् । उनीहरूले २८ चैतबाट तालिम गरेका थिए ।
मकवानपुरमा यसपालि ३ सय ६५ मतदान केन्द्रबाट २ लाख ९४ हजार ९ सय १९ जनाले मतदान गर्दैछन् ।
तीमध्ये १ लाख ४९ हजार ९ सय ५४ जना पुरुष, १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना ६ अन्य मतदाता रहेका छन् ।