थाहामा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा
उम्मेदवारहरुको दैनिकी आजभोलि अति व्यस्त र थकानपूर्ण देखिन्छ । बिहान सवेरै उठ्ने, समर्थक र कार्यकर्ता जम्मा पार्ने, झण्डा हातमा बोकेर र्याली निकाल्ने, टोलटोल धाउने , वडा–वडामा पुगेर सभा गर्ने । दिनभर व्यस्त देखिन्छन् उनीहरू ।
जतिजति चुनावको दिन नजिक आउँदै छ, उति नै उनीहरूको दौडधुप बढ्दो छ । चुनावी प्रचार प्रसार, घरदैलो र कोण सभा गर्दागर्दै उनीहरुको दिन बित्ने गरेको छ । उम्मेदवार र कार्यकर्तारुको यस्तो क्रम केही सातादेखि नै चलिरहेको छ ।
पर्यटकीय नगरीको रुपमा परिचित मकवानपुरको थाहा नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारहरु मतदातालाई आफूतिर आकर्षित गर्न घरदैलो, र्याली र कोणसभामा व्यस्त छन् ।
सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका विष्णुबहादुर विष्टले मेयरमा उम्मेदवारी दिएका छन् भने एमालेको तर्फबाट अच्युतम ढकाल मेयरको प्रतिस्पर्धामा छन् ।
सत्ता गठबन्धन आफ्नो विरासतलाई निरन्तरता दिन चुनावी माहोल बनाउँदै घरदैलोमा पुगिरहेको छ । त्यसैगरी एमालेका उम्मेदवार र कार्यकर्ताहरु पनि बिहानैदेखि अवेरसम्म घरदैलो र कोणसभामा व्यस्त छन् ।
शनिबार गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवार साविकको आग्रा गाविसमा घरदैलो गर्न पुगेका थिए ।