संविधानको रक्षा गर्न गठबन्धन बनेको हो : काँग्रेस सहमहामन्त्री महालक्ष्मी डीना
नेपाली काँग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले संविधानको रक्षाका लागि अहिलेको गठबन्धन बनेको बताउनुभएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन मङ्गलबार हेटौँडा उपमहानगरपालिका वडा नं. २ र मकवानपुरगढी गाउँपालिका वडा नं. ३ मा ¥याली पछि आयोजित सभामा उपाध्यायले नेकपा एमालेबाट अबको विकास र परिवर्तन सम्भव नभएको बताउनुभयो ।
उहाँले विगतमा विशेष अबस्थामा दलहरुबीच गठबन्धन हुने गरेको बताउँदै लोकतन्त्र र गणतन्त्र स्थापना दलहरुबीचको गठबन्धनकै कारण सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, केपी ओलीबाट संविधानमाथि प्रहार भएपछि सर्वसत्तावाद प्रवृत्तिविरुद्ध स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन भएको हो ।
मकवानपुरगढीमा आयोजित कार्यक्रममा काँग्रेस नेता आनन्दराम पराजुलीले स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउन र विकासका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताउनुभयो । मकवानपुरगढी गाउँपालिका वडा नं. ३ को सत्तागठबन्धनका निर्वाचन परिचालन समितिमा संयोजक शत्रुघन दुलालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्षका उम्मेदवार दोर्जे लामा स्याङ्तानले व्यवस्था र सरकार परिवर्तन भएपनि संस्कार परिवर्तन नहुँदा समाज परिवर्तन भएको बताउनुभयो ।
यस्तै उपाध्यक्षका उम्मेदवार मानकुमारी पाख्रिनले मतदातको सुरक्षा गर्न र गठबन्धनका कार्यकताहरुलाई निर्वाचनमा संयमता अपनाउन आग्रह गर्नुभयो ।