हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग नगर्न सर्वोच्चको अन्तरिम आदेश
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौँडा अस्पताललाई अलग गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
बागमती प्रदेशको तत्कालीन एमाले सरकारले प्रतिष्ठान स्थापना गरी संघीय सरकारको स्वामित्वमा रहेको अस्पताललाई गाभेको थियो । हेटौँडा अस्पताललाई तत्कालीन प्रदेश सरकारले प्रतिष्ठानमा ल्याएर आफ्नो मातहत सञ्चालन गरिरहेको थियो । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारको स्वामित्वमा रहँदा अस्पतालको गुणस्तर र व्यवस्थापनमा कमजोरी देखिएको भन्दै प्रतिष्ठान स्थानपना गरेका थिए ।
गठबन्धन सरकारले संसदलाई छलेर अध्यादेशमार्फत अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने निर्णय गरेको थियो । त्यस यता बागमतीको प्रमुख प्रतिपक्ष एमालेले प्रतिष्ठानबाट अस्पताल अलग गर्ने निर्णयविरुद्ध चर्को विरोध गरेको थियो । सर्वाेच्चको संवैधानिक इजलासले अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने बागमती प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश दीपककुमार कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्कीको इजलासले प्रतिष्ठानबाट अस्पताललाई अलग गर्नुको कारणसहित उपस्थित हुन प्रदेश सरकारलाई आदेश दिएको छ । मन्त्रिपरिषद्को निर्णयमाथि प्रतिष्ठानले सर्वाेच्चमा उत्प्रेषण परमादेशको रिट दायर गरेको थियो । प्रचलित संघीय कानुनसँग बाझिने गरी प्रदेश सरकारले अध्यादेश जारी गरेको भन्दै रिट दायर भएको थियो ।