७ अफ्रिकी–अमेरिकीले सगरमाथा आरोहण गरे
रंगभेदविरुद्धको आवाज बुलन्द बनाउने उद्देश्यसहित अश्वेत अल्पसंख्यक समुदायका ७ जना अफ्रिकी–अमेरिकीले बिहीबार विश्वकै अग्लो शिखर सगरमाथामा ‘सामूहिक अश्वेत अल्पसंख्यक आरोहणको कीर्तिमान’ कायम गरेका छन् ।
विश्वभर अफ्रिकी–अमेरिकी र अन्य समुदायले भोग्नु परेको रंगभेदलगायतका विभेदविरुद्ध चेतना जगाउन संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका फिलिप हेन्डरसनको नेतृत्वमा अश्वेत समुदायका १५ जना २ महिनाअघि नेपाल आएका थिए । उनीहरुमध्ये १० जना सगरमाथा आरोहणमा गएका थिए ।
‘राती साढे १ बजेदेखि बिहान साढे ७ बजेसम्म अश्वेत समूहका ७ जनाले सगरमाथा आरोहण गरेका छन,’ यो आरोहण दलको व्यवस्थापकीय जिम्मा लिएको सांग्रिला नेपाल ट्रेक प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेले कान्तिपुरसँग भने, ‘तीन जनाले आरोहण सकेनन् । उनीहरुसहित ८ जना शेर्पाले सगरमाथा आरोहण गरेका छन् ।’
फिलिपको नेतृत्वमा रहेको फूल सर्कल नाम दिइएको टोलीमा केन्याका जेम्स कागाम्नी, अन्य ८ जना अमेरिकी नागरिक तथा डकुमेन्ट्री बनाउने सदस्यसहित १५ जना छन् । यो आरोहणको डकुमेन्ट्री पनि निर्माण भइरहेको छ ।
टोली नेता फिलिपले सन् २०१२ मा सगरमाथा आरोहणमा गएका थिए । तर, उनी स्वास्थ्य समस्यका कारण ७ हजार मिटर उचाइमा रहेको तेस्रो शिविरबाटै फर्किएका थिए ।