जेठ १ गतेबाट बुद्ध एयरले रात्रीकालिन उडान सुरू गर्ने

हेटौंडा खबर
२९ बैशाख २०७९, बिहीबार ११:५०

बुद्ध एयरले आगामी जेठ १ गतेदेखि विभिन्न गन्तव्यहरूमा रात्रिकालिन उडान सेवा विस्तार गर्ने भएको छ।

रात्रिकालिन उडान तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा उपलब्ध हुनेछन्। यी उडानका समयहरू राती ८ बजेदेखि र त्यसपछिका मात्र हुनेछन्।

दैनिक कामकाजमा व्यस्त यात्रुहरूका लागि रात्रिकालिन उडान निकै आकर्षक हुने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। रात्रिकालिन उडान बिहान र दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुनेछ।

कम्पनीले रात्रिकालिन उडान हुने गन्तव्यहरूमा त्यहाँको प्रदेश र स्थानीय सरकारले सार्वजनिक यातायातको सुविधाको लागि अनुरोध गरेको छ।

यात्रुहरूको आवतजावतले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने विश्वास बुद्ध एयरले लिएको छ।

काठमाडौंको हकमा ‘टुटल’सँग समन्वय गरी रात्रिकालिन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको कम्पनीका सूचना अधिकारी दिपेन्द्र कुमार कर्णले बताए।

त्यस्तै, पोखरा विमानस्थललाई बुद्ध एयरले सबै प्रदेशबाट सिधा उडानले जोडिसकेको छ।

अब बुद्ध एयरले भैरहवा विमानस्थललाई पनि दोस्रो हबको रूपमा सबै प्रदेशबाट जोड्न लागेको छ। भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालनमा ल्याइसकेको छ।

निकट भविष्यमै भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा  क्रमशः उडान भर्ने योजना कम्पनीकाे छ।

उडानसँगै पर्यटकहरूका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजमार्फत होलिडे प्याकेजहरू पनि सञ्चालन गरिहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*