आज दिउँसो ३ बजेसम्म मतदाता परिचयपत्र लिन सकिने
शुक्रबार स्थानीय निर्वाचन हुँदैछ। निर्वाचनका लागि अधिकांश स्थानमा तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ।
काठमाडौंमा पनि स्थानीय निर्वाचनका लागि तयारीका कामहरु भइरहेका छन्। सुरक्षाकर्मी र कर्मचारीहरु निर्वाचन केन्द्र र मतदानस्थलमा खटिसककेको आयोगले जनाएको छ।
काठमाडौंको चाबहिल पानीट्याङ्की ‘क’ का मतदान अधिकृत दशरथ धमलाले आवश्यक तयारी पूरा भएको बताए।
उनले नयाँ मतदाताहरुलाई नमूना मतपत्रमा भोट हाल्न सिकाएको र मतदाताहरुले सिक्न चाहेका निर्वाचनसम्बन्धी अन्य जानकारी पनि दिइएको बताए।
मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षाको काम आज दिउँसो ३ बजेसम्म चल्नेछ।
त्यसपछिको समयमा भोलि हुने स्थानीय निर्वाचनका लागि बाँकी तयारी सक्ने र मतदातालाई सुरक्षित, भयरहित र निष्पक्ष रुपमा भोट हाल्न पाउने व्यवस्थाका लागि काम गर्ने मतदान अधिकृत धमलाले बताए।
उनले भने, ‘‘हामीले दुईदिन परिचयपत्र वितरण गर्ने कार्यक्रम राखेका छौँ। यो मतदान केन्द्रमा क र ख दुई मतदान केन्द्र रहेका छन्। सम्पूर्ण कर्मचारीहरु बिहानैदेखि काममा खटिसक्नुभएको छ।
साथै हामीले भोट बदर नहुनेगरी भोट हाल्न सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरी मतदाता शिक्षा दिइरहेका छौँ।’’