देशका १३ मतदान केन्द्रमा चल्यो गोली, केही ठाउँमा विवाद

हेटौंडा खबर
३० बैशाख २०७९, शुक्रबार ०७:४५

स्थानीय तहको निर्वाचनमा मतदानका क्रममा विवाद हुँदा देशका विभिन्न जिल्लाका १३ मतदान केन्द्रमा गोली चलेको छ।

शुक्रबार मध्याह्न १२ बजेसम्म विभिन्न मतदान केन्द्रमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर चलाउनु परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रामछापको सुनापति गाउँपालिकाको मानपुर कृष्ण मावि मतदान केन्द्र र खाँडादेवी गाउँपालिका-१ राकाथममा मतदान केन्द्रमा दुई पक्षीय झडप भएको थियो। झडप नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड हवाई फायर गरेको थियो।

त्यस्तै, दोलखाको मेलुङ गाउँपालिका-४ स्थित मतदान केन्द्र र वैतेश्वर गाउँपालिकामा मतदानका विषयमा झडप हुँदा फायर गरिएको छ। दुई स्थानमा गरी १३ राउन्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका-९ मा पनि मतदानका विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच झडप भएपछि प्रहरीले नौं राउन्ड हवाई फायर गरेको छ।

यसैगरी, हुम्लाको अदानचुली गाउँपालिका-२ स्थित महादेव मावि मतदान केन्द्र  र चंखेली गाउँपालिका-२ स्थित मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप भएको हो।

झडपका क्रममा मतदान अधिकृतसहित दुई जना घाइते भएका छन्। चंखेली गाउँपालिका-२ स्थित महादेव मावि मतदान केन्द्रमा प्रहरीमाथि नै ढुंगामुढा गरेपछि सात राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार अछामको साँफेबगर नगपालिका-१३ बाब्लामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ। झडपका कारण मतदान स्थगित भएको छ।

बाजुराको बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले हवाई फायर गरेको छ। दुई पक्षबीच सामान्य विवादमा ढुंगा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ।

बाराको देवताल गाउँपालिका-७ मा मतदानका क्रममा झडप हुँदा एक जना घाइते भएका छन्। झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। बाराकै सिम्रौनगढ नगरपालिका-२ बैरियामा पनि झडप भएको छ।

सर्लाहीको धनकौल गाउँपालिका-२ स्थित पशुसेवा मतदान केन्द्रमा गोली चलेको छ। प्रतिनिधि छनोटबारे दलबीच विवाद बढेपछि ढुंगामुढा प्रहार भएको र स्थिति नियन्त्रणमा लिन ६ राउन्ड हवाई फायर गरिएको प्रहरीको भनाइ छ।

गोरखाको गण्डकी गाउँपालिका-७ घ्याल्चोकको ज्ञानमार्ग माविको मतदान केन्द्रमा पनि तनाव भएको छ। मतदान गर्ने कांग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच हात हालाहाल भएको थियो। विवाद बढ्दै गर्दा हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ।

रौतहटको फतुवा विजयपुर नगरपालिकामा दुई पक्षबीच झडप हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाइ फायर गरेको छ। विजयपुर नगरपालिका-३ स्थित शीतलपुर मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको थियो।

निर्वाचन आयोगका अनुसार केही ठाउँमा झडपका घटना भए पनि देशभर शान्तिपूर्ण रुपमा मदतान भइरहेको छ। झडप भएका स्थानमा पनि पुनः मतदान हुन थालेको छ। मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ

यसमा तपाइको मत

Your email address will not be published.


*