बाराको गढीमाईमा कांग्रेस र एकीकृत समाजवादीबीच झडप, १५ जना घाइते
बाराको गढीमाईमा सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ। गढीमाई नगरपालिका–३ खरिदी मतदान केन्द्रमा भएको झडपमा १५ जना घाइते भएका छन्।
दुई पार्टीका कार्यकर्ताबीचको झडप नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड हवाई फायर गरेको छ। नेपाली कांग्रेस र एकीकृत समाजवादीका बीचमा मत माग्ने क्रममा विवाद भएपछि झडप भएको हो।
झडप भएपछि अहिले मतदान स्थगित गरिएको छ। सर्वदलीय बैठक राखेर मिलाउने प्रयास भइरहेको छ।प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले उक्त स्थानमा विवाद मिलाउने प्रयास जारी रहेको र सहमति पछि पुन: मतदान हुने बताए।