हरिवंशदेखि राजेश हमाल सम्मले गरे मतदान
शुक्रबार बिहान ७ बजेदेखि स्थानीय निर्वाचन २०७९ को मतदान शुरु भएको छ। कलाकारले पनि आफ्नो मताधिकारको प्रयोग गरेका छन्। जसमा केही कलाकारले पहिलो पटक मतदान गर्दैछन्।
महानायक राजेश हमालले काठमाडौंको लैनचौरमा मतदान गरेका छन्। मतपत्रको राम्रोसँग अध्ययन गरेर मात्रै मताधिकारको प्रयोग गरेको बताउने उनले आफ्नो प्रतिनिधि चुन्ने काम भएकाले निर्वाचन सबैका लागि निकै महत्त्वपूर्ण रहेको पनि जनाए।
मतदाताको काम भनेको मतदान गर्ने मात्रै नरहेको र प्रतिनिधि रुपमा उभिएकाहरूले जनताको नेता नभएर कार्यकर्ता भएर काम गर्नुपर्ने बताउँदै उनले भने, ‘उत्साहित छौँ तर अझै उत्साहित तब हुन्छौँ जब हाम्रो मतको कदर गर्दै त्यो अनुरुप काम गर्नुहुन्छ। नेता भएर होइन जनताको कार्यकर्ता भएर काम गर्नुहुन्छ।
जनताको काम भोट गर्ने मात्रै नभएर भोट गरेपछि सही तरिकाले काम गर्नुभयो कि भएन भनेर बुझ्ने पनि हो। हामीले खबरदारी गरिराख्नुपर्ने हुन्छ।’ साथै भविष्यमा राजनीतिमा प्रवेश गर्दिनँ भन्न नसकिने पनि उनले बताए।