मकवानपुरमा सकियो मतदान, हेटौंडाका सबै वडाका मतपेटिका संकलन गरिदै
मकवानपुरमा लगभग ६५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका सबै स्थानीय तहका कूल मतदातामध्ये ६५ प्रतिशत भन्दा बढी मतदाता मतदान प्रक्रियामा सहभागी भएको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जानकारी दिएका छन् ।
निर्वाचन आयोगले तोकेको अवधिमा ६५ प्रतिशत भन्दा बढी मतदाताले मतदान गरेका हुन् ।
श्रेष्ठले यकिन तथ्यांक भने आउन बाँकी रहेको बताउँदै जिल्लामा शान्तिपूर्वक निर्वाचन सम्पन्न भएको बताए । उनले जिल्लाको १० वटै स्थानीय तहहरुमा मतपेटीका संकलनको कार्य भइरहको र केहि स्थानीय तहको मतगणना आजै रातिबाट हुने जानकारी दिए ।
जिल्लामा १ लाख ४९ हजार ९ सय ५४ जना पुरुष, १ लाख ४४ हजार ९ सय ५९ जना महिला र अन्य ६ जना गरी २ लाख ९४ हजार ९ सय १९ जना मतदाता रहेका छन् । यस अघिको निर्वाचनमा २ लाख २७ हजार ७ सय ५९ थिए, अहिले ६७ हजार मतदाता थपिएका छन् ।
त्यस्तै हेटौँडामा ५० हजार ७ सय २५ जना पुरुष, ५३ हजार ७ सय ४५ महिला र ३ जना अन्य गरी १ लाख ४ हजार ४७३ जना मतदाता रहेका छन् ।