हेटौंडामा एमालेमा अन्तर्घात, एक भोट हलोमा अरु सुर्यमा !

हेटौंडा खबर
४ जेष्ठ २०७९, बुधबार २३:२१

नेकपा एमाले मकवानपुरको सबै भन्दा ठुलो दलको रुपमा रहेको थियो । जिल्लालाई एमालेको गढनै मानिने गरिएको थियो ।

तर स्थानीय निर्वाचन २०७९ ले एमालेको लालकिल्ला मकवानपुरमा ढाल्ने निश्चित बनाएको छ । यो स्थानीय चुनावमा गठबन्धनलाई पत्तासाफ गर्ने एमालेले पहिलेनै उद्घोष गरेको थियो तर अवस्था एमालेले चुनाव अघि सोचेको जस्तो भएन । निर्वाचनको मतपरिणाम एमालेले सोचे भन्दा ठिक विपरित आयो ।

गठबन्धनलाई क्लिनस्विप पार्ने दाउँमा रहेको एमाले जिल्लाको केहि स्थानमा आफै पत्तासाफ भयो ।

एमालेले पार्टी फुटलाई नजरअन्दाज, उम्मेदवार उठाउँदा केन्द्रीय नेता तथा नजिककालाई टिकट दिने र असली कार्यकर्ताको भावनालाई बुझ्न नसक्नु एमालेको ओरालो यात्राको मुख्य कारण हो भन्दा फरक पर्दैन । यो निर्वाचनमा पार्टी भित्रै अन्तर्घात भएकाले पनि एमालेले ठुलो धक्का व्यहोर्नु पर्ने भएको छ ।

यसपाली एमालेले अघिल्लो निर्वाचनमा राम्रो मत ल्याएको वडा तथा पालिकामा समेत लज्जास्पद हार बेहोरेको छ । मतपत्रमा मेयरमा हलो अन्यसबैमा सुर्य, मेयरमा हलो, उपमेयरमा रुख र अन्य सबै सुर्य रोजिएको मतपत्र धेरै भेटिएका छन् । यसले एमाले नेता तथा नेतृत्वले गरेको व्यवहारले कार्यकर्ता तथा मतदाता रुष्ट बनेको स्पष्ट देखिन्छ ।

मतपरिणाम प्रतिकुल बन्दै गएपछि जिल्लाका केहि नेता तथा कार्यकर्ताले घात र अन्तर्घातका कुराहरु सामाजिक संजालमा समेत पोखेका छन् ।

मकवानपुरको  १०२ वटा वडा मध्ये हालसम्म कांग्रेसले ३९ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३ र एमालेले १९ वडामा अध्यक्ष जितेको छ । त्यस्तै भीमफेदी गाउँपालिकाको अध्यक्ष र इन्द्रसरोबर गाउँपालिकामा मात्र अहिले सम्म एमालेले जित हात पारेको छ ।

मेयरमा एमालेका अनन्त पौडेल तेस्रो स्थानमा सबै भन्दा कम मतका साथ् अघि बढिरहेका छन् । उनलाई राप्रपाका दिपक सिंहले पछी पारिरहेका छन् । हेटौंडामा एमालेको राम्रो पकड रहेको भनिएको वडा नम्बर- ३, ४, ५ लगायतका स्थानमासमेत पौडेलले राम्रो मत पाउन सकेनन् ।

यो निर्वाचनमा एमालेले मकवानपुरका ठुलो हार बेहोर्नु पर्ने निश्चित जस्तै भएको छ  ।

यसमा तपाइको मत

Your email address will not be published.


*