मकवानपुरमा ढल्यो एमालेको ‘किल्ला’, सुर्यको गढमा कांग्रेसको उदय

हेटौंडा खबर
७ जेष्ठ २०७९, शनिबार ०१:१९

नेकपा एमाले मकवानपुरको सबै भन्दा ठुलो दलको रुपमा रहेको थियो । जिल्लालाई एमालेको गढनै मानिने गरिएको थियो ।

तर स्थानीय निर्वाचन २०७९ ले एमालेको लालकिल्ला मकवानपुरमा ढालेको छ । यो स्थानीय चुनावमा गठबन्धनलाई पत्तासाफ गर्ने एमालेले पहिलेनै उद्घोष गरेको थियो तर अवस्था एमालेले चुनाव अघि सोचेको जस्तो भएन । निर्वाचनको मतपरिणाम एमालेले सोचे भन्दा ठिक विपरित आयो ।

गठबन्धनलाई क्लिनस्विप पार्ने दाउँमा रहेको एमाले जिल्लाको केहि स्थानमा आफै पत्तासाफ भयो ।

एमालेले पार्टी फुटलाई नजरअन्दाज, उम्मेदवार उठाउँदा केन्द्रीय नेता तथा नजिककालाई टिकट दिने र असली कार्यकर्ताको भावनालाई बुझ्न नसक्नु एमालेको ओरालो यात्राको मुख्य कारण हो भन्दा फरक पर्दैन । यो निर्वाचनमा पार्टी भित्रै अन्तर्घात भएकाले पनि एमालेले ठुलो धक्का व्यहोर्नु पर्यो ।

हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनकी उमेदवार नेकपा समाजवादीकि मीना कुमारी लामाले २३ हजार ७५ मत ल्याउदै विजयी भएकी छिन् । एमालेका अनन्त पौडेललाई उनले  २ हजार १६७ मतान्तरले पछी पारिन् ।एमालेका पौडेलले २० हजार ९०८ मत प्राप्त गरे भने राप्रपाका दिपक बहादुर सिंह २० हजार ५३१ मत प्राप्त गरे ।

त्यस्तै हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखमा गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भए। उनले ३२ हजार ५९३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्दी एमालेकी सुमित्र काफ्लेलाई ८ हजार ६८४  मतले पछी पार्दै जित हासिल गरे ।

यसपाली एमालेले अघिल्लो निर्वाचनमा राम्रो मत ल्याएको वडा तथा पालिकामा समेत लज्जास्पद हार बेहोरेको छ । मतपरिणाम प्रतिकुल बन्दै गएपछि जिल्लाका केहि नेता तथा कार्यकर्ताले घात र अन्तर्घातका कुराहरु सामाजिक संजालमा समेत पोखेका छन् ।

मकवानपुरको  १०२ वटा वडा मध्ये कांग्रेसले ४४ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २४ र एमालेले ३३ वडामा अध्यक्ष जितेको छ । त्यस्तै भीमफेदी गाउँपालिकाको अध्यक्ष र इन्द्रसरोबर गाउँपालिकामा मात्र अहिले सम्म एमालेले जित हात पारेको छ ।

गठबन्धनलाई धुलो चटाउछौं भन्दै २०७९ को निर्वाचनमा होमिएको एमाले निर्वाचन पश्चात मतगणनामा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेल तेस्रो स्थानमा झर्नु पर्ने अवस्था पनि आइपुग्यो । एमालेकै गढ मानिएको वडामासमेत उनलाई भोट आएन । हेटौंडाको १४ र १५ नम्बरको मतका कारण उनि मतगणनामा दोस्रो स्थानमा उक्लिए ।उनलाई आफ्नै पार्टीबाट राप्रमामा भोट गएपछि उनलाई राप्रपाका दिपक सिंहले पछी पारे । हेटौंडामा एमालेको राम्रो पकड रहेको भनिएको वडा नम्बर- ३, ४, ५,९,११ लगायतका स्थानमासमेत पौडेलले मत पाउन सकेनन् । हेटौंडाको १९ वटा वडामध्य एमालेको भागमा ९ वटा वडामात्र पर्यो ।

त्यस्तै जिल्लाका १० स्थानीय तह मध्ये एमालेले जम्मा २ स्थानिय तहमा चित्त बुझाउनु पर्यो । एमालेले जिल्लाको इन्द्र सरोबर र भीमफेदी गाउँपालिकाको मात्र प्रमुख पायो ।

त्यस्तै ०७४ को निर्वाचनमा राम्रो जित हासिल गरेको पालिका पनि एमालेले यसपाली गुमाउनु पर्यो । गत निर्वाचनमा वडामा बहुमत विजयी भएको एमालेले स्थानीय निर्वाचन २०७९ मा जित भन्दा हार धेरै सहनुपर्यो ।

कांग्रेस बन्यो ठुलो पार्टी

स्थानीय निर्वाचन २०७९ ले नेपाली कांग्रेसलाई मकवानपुरमा ठुलो पार्टी सावित गरिदिएको छ । बहुदल पछी २०४८ सालमा भएको आमनिर्वाचन, २०५१ सालको मध्यावधी निर्वाचनसँगै मकवानपुरमा आफ्नो स्थान लिन सुरु गरेको कांग्रेस, स्थानीय तह निर्वाचन २०७९ सम्म आइपुग्दा जिल्लामा पहिलो पार्टीको रुपमा उदाएको छ ।

२०४९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले तत्कालिन ४३ गाविसमध्य १० गाविस जितेको थियो।त्यस्तै २०५४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले एउटा मात्र गाविसमा जित्यो । २०५४ सालमा मकवानपुरमा कमल थापाको आगमनसंगै कांग्रेस थप कमजोर बन्न पुग्यो ।

‘कमल थापाको बलियो पकड, कम्युनिष्टको चौतर्फी संगठन विस्तारका कारण लामो समयसम्म कांग्रेस खुम्चिएर बस्नुपरेको कांग्रेसका पुराना नेताहरु बताउछन् ।

मकवानपुरमा लामो समय राप्रपा नेता थापा र रुपचन्द्र विष्टको प्रभाव रहिरह्यो । माओवादी युद्धपश्चात् जिल्लामा थापाको शक्ति असाध्यै कमजोर बन्न पुग्यो ।२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मकवानपुरको चारवटै निर्वाचन क्षेत्र माओवादीको कब्जामा गएको थियो ।

उता एमालेले २०४९ सालदेखि मकवानपुरमा पहिलो शक्तिको रुपमा शासन गर्न सुरु गरिसकेको थियो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन मकवानपुर- १ बाट कांग्रेस नेता तथा हाल कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ विजयी भए । उनको जितसंगै मकवानपुरमा कांग्रेसको संरचना विस्तारै बलियो बन्दै गयो ।त्यसपछि जिल्लाका सबै स्थानमा कांग्रेसले आफ्नो शक्ति बढाउदै गयो। अहिले २०७९ को स्थानीय निर्वाचन सम्म आइपुग्दा जिल्लामा नेपाली कांग्रेस पहिलो पार्टीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*