मूल्यवृद्धि विरुद्ध हेटौंडामा एमालेको विरोध प्रदर्शन, दाउरा बालेर चुलोमा चिया पकाइयो !
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा हेटौंडामा विरोध प्रदर्शन गरिएको छ ।
नेकपा एमालेको जनवर्गीय संगठनहरुको आयोजनामा हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनमा एमाले जिल्ला नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । प्रदर्शनमा उपस्थित नेता तथा कार्यकर्ताले सरकारले बढाएको मूल्यवृद्धि तत्काल फिर्ता नलिए आफुहरु निर्णायक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । उनीहरुले हेटौंडाको बुद्धचोकमा दाउरा बालेर चुलोमा चिया पकाएर सांकेतिक विरोध जनाएका छन् ।
नेपाल आयल निगमले ग्यासमा प्रतिसिलिन्डर २ सय, पेट्रोल, डिजेल, मट्टितेलमा १०/१० रुपैयाँ मूल्य वृद्धि गरेको छ । पछिल्लो बढेको मूल्यअनुसार ग्यास सिलिन्डरको १ हजार ८ सय, पेट्रोल १८० र डिजेल, मट्टितेल १६३ रुपैयाँ निर्धारण भएको छ ।
आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।