हेटौंडा-१९ को यो वृद्धाश्रम, जहाँ दुई छाक खान मुस्किल छ
हेटौंडा उपमहानगरपालिका–१९ मा रहेको सर्वेश्वर महादेव मन्दिर वृद्धाश्रमको अवस्था नाजुक छ । यहाँ आश्रय लिइरहेका ज्येष्ठ नागरिकको अवस्था झन् दयनीय छ ।
खाना बनाउन चुल्हो समेत नहुँदा आश्रित भोकै बस्नुपर्ने अवस्था छ । एक सय वर्षकी कलावती कठायतले भनिन्, ‘पानी पर्दा खाना बनाउन सकिंदैन, कति रात बिस्कुट खाएर सुत्यौँ ।’ १२ वर्षदेखि कठायतले यहिँ वृद्धाश्रममा आश्रय लिइरहेकी छिन् ।
आश्रमको भान्साकोठामा निर्माणसामग्री राखिएको छ । भान्साकोठाबाहिर तीनवटा ढुङ्गा राखेर खाना बनाउने गरेको २३ वर्षदेखि आश्रममा बसिरहेका ७५ वर्षीय रामेश्वर घलेले बताए । उनी भन्छन्, ‘पहिला ग्यास चुलो थियो, ५–६ महिना भयो न ग्यास सिडिन्डर छ, न ग्यास चुलो । दुई छाक खान मुुस्किल छ ।’
दुई छाक खान पाउन मुस्किल छ भने उनीहरुले पोषणयुक्त खानेकुरा पाउनु त धेरै टाढाको कुरा । शौचालयको पनि उस्तै समस्या छ । आश्रमका संरचना समेत ज्येष्ठ नागरिकमैत्री छैन । ज्येष्ठ नागरिकलाई हुनुपर्ने हेरचाह र स्याहार त छैन नै स्वास्थ्य उपचारको समेत व्यवस्था छैन ।
उनीहरुको गुनासो छ– ‘हामीलाई केही तलमाथि भइहाले पनि हेरचाह गर्ने कोही छैन । हामी मृत्यु कुरेर बसिरहेका छौं ।’
वृद्धाश्रमका व्यवस्थापन समितिले चासो नदिएको उनीहरुको गुनासो छ । उता आश्रम व्यवस्थापन समितिका अध्यक्ष यदुकुमार पाठकले भने वृद्धवद्धाले खान नपाएको कुरालाई अस्विकार गर्छन् ।उनि भन्छन्, ‘आश्रमको आम्दानी छैन । धेरै काम गर्न सकिएको छैन । हाम्रो आयश्रोत कतै छैन’ ।
यहाँ आश्रय लिएका वृद्धवृद्धाले बिहान बेलुका हातमुख जोड्न सम्म नपाउने अवस्था बनेको छ तर कुनै सहयोगी सस्था तथा सरकारी निकाय यो वृद्धाश्रमसम्म आइपुगेका छैनन् । यहाँ आश्रय लिएर बसेका भने सहयोगी हात र स्थानीय सरकारको प्रतिक्षा र आसामा बसेका छन् ।