वाग्मती प्रदेशको नीति तथा कार्यक्रम : शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

हेटौंडा खबर
१६ जेष्ठ २०७९, सोमबार १६:४५

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ ।

शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर महत्वाकांक्षी कार्यक्रमसहित वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।वाग्मती प्रदेशलाई शिक्षाको हबको रुपमा विकास गर्दै लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश प्रमुख शर्माले प्रदेशभित्रका बाल विकास केन्द्रलाई स्थानीय तह संघको सहकार्यमा नमूना केन्द्रको रुपमा स्तरोन्नती गर्ने, दलित, अपांग, सीमान्तकृत एवं विपन्न विद्यार्थीलाई विद्यालय शिक्षामा पहुँच वृद्धि गरिने बताए । यस क्रममा उनले कोही पनि बालबालिका शिक्षाको पहुँचबाट बञ्चित हुन नपारोस् भन्ने योजना अघि सारिएको बताए ।

विद्यालयको भौतिक सुधार गरी आधुनिक पाठ्य सामग्री तयार पारी प्रत्येक जिल्लाको कम्तीमा एक विद्यालयमा नमूना बाल विकास केन्द्र सञ्चालन गरिने पनि उनले बताएका छन् । गुरु योजना स्वीकृत भएका आवासीय विद्यालयकाहरुको भौतिक विकास गर्नुका साथै नमूना विद्यालयमा विकास गुरुयोजना कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि सूचना प्रविधि प्रयोगशाला, विज्ञान तथा विषयगत प्रयोगशालाहरु स्थापना गरिने पनि प्रदेश प्रमुख शर्माले बताए ।

यस्तै प्रदेश सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । प्रदेशभित्रका माध्यमिक तहका विद्यालयहरुमा उक्त कार्यक्रमलाई निरन्तरता दिने घोषणा नीति तथा कार्यक्रम मार्फत् गरिएको छ । उच्च शिक्षा पढ्नका लागि ‘छोरी–बुहारीलाई छात्रवृत्ति’ कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ ।

‘जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गत विपन्न नागरिकलाई क्यान्सर, हृदयघात, मस्तिष्कघात र अप्स्टेट्रिक फिष्टुलालगायत रोगको उपचारमा दिइँदै आएको सहुलियत व्यवस्थालाई थप प्रभावकारी बनाइने बताइएको छ ।

‘मृगौला रोगीका लागि सञ्चालित निःशुल्क डायलासिस सेवा प्रदेश मातहतका सबै अस्पतालहरूमा विस्तार गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘हेटौंडा अस्पताललाई दुई सय बेडको अस्पतालमा स्तरोन्नती गरी धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँगको सहकार्यमा मृगौला प्रत्यारोपण सेवा समेत विस्तार गरिनेछ ।’

यस्तै वाग्मती सरकारले प्रदेश सञ्चार प्राधिकरण स्थापना गर्ने भएको छ । प्रदेश प्रमुख शर्माले प्रदेशभित्र संचालनमा रहेका संचार गृहहरूको व्यवस्थित संचालन र विकास विस्तारका लागि प्राधिकरण स्थापना गर्ने बताए । त्यस्तै, प्रदेशभित्र संचालित संचार गृहलाई प्रदेशमै दर्ता नवीकरण गर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने उनले बताए ।

प्रदेश सरकारले ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापन गर्ने पनि नीति तथा कार्यक्रममा समेटेको छ । पशु बिमालाई प्रभावकारी बनाउने र संघ तथा स्थानीय तहको समन्वयमा ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापना गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । यस्तै खेलकुदको क्षेत्रमा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र रंगशाला निर्माण गर्ने योजना अघि बढाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*