गोसाइँकुण्ड मेला हेर्नका लागि तीर्थयात्री आउने क्रम सुरु
गंगादशहराको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ।
मेला हेर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको छ। यसअघिका वर्षहरूमा कोभिड–१९ कारण मेला सञ्चालन नभएकोमा यसपटक भने मेला सञ्चालन हुने छ। जनैपूर्णिमाको तुलनामा गंगादशहरामा गोसाइँकुण्डमा कम तीर्थयात्री आउने गरेका छन्।
कोभिड–१९ को जोखिम कम भएको र पदमार्गमा पनि कुनै समस्या नभएको कारण यसपटक मेला सञ्चालन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ। मेला १० दिनसम्म सञ्चालन हुनेछ। मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको समितिका अध्यक्ष संजिव डिएमले बताए। रसुवा होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष निशान गजुरेलले दैनिक २५/३० जना तीर्थयात्री आइरहेका बताए। उनले मेला सुरु भएको र तीर्थयात्री आउने अपेक्षा गरेको जानकारी दिए।
धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन्। त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ। काठमाण्डौ–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो। काठमाण्डौँबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ। त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ।
त्यसैगरी तीर्थयात्रीले काठमाण्डौँ–सुन्दरीजल-हेलम्बु–ठाडेपाटी बाटो पनि प्रयोग गर्दै आएका छन्। धेरै कम यात्रुहरूले यार्सा गोसाइँकुण्डको बाटो प्रयोग गर्ने गरेका छन्। तर कुनैपनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइदैन्।
कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनी हजारौं भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन्।
पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भई त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाईन्छ।
जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन्। मेला अवधिमा रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, ललितपुर, काठमाडौँ, काभ्रे, नवलपरासी, चितवन, पोखरा, तराईका अन्य जिल्ला तथा भारतीय पुजारी, तीर्थालु, प्रकृतिप्रेमी, लामाहरू, झाँक्रीहरू गोसाइँकुण्ड जान्छन्।
गोसाइँकुण्ड क्षेत्रमा त्रिशुलधारा, शिव मन्दिर, भगवानको टाउकोबिनाको ढुङ्गाको मुर्ति र गुफाहरू रहेका छन्। त्यहाँ अमरसिंह गुफा, अमरसिंहको चिहान, सिंगुम्बा, फुलुम गुम्बा, यतिको चिहान, लौरीबिना, बौद्धस्तुप र गणेश गौडा रहेका छन्। कुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दुधकुण्ड लगायतका थुप्रै कुण्ड रहेका छन्।