बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
बिहीबार बसेको प्रदेशसभाको बैठकले सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि प्रदेशसभाका ९ जना सदस्यहरुले संशोधन प्रस्ताव दर्ता गराएका थिए । जसमा नेकपा एमालेका तर्फबाट ७ जना, विवेकशील साझा पार्टीका १ जना र नेमकिपाका १ जनाले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
उनीहरुले सरकारको नीति तथा कार्यक्रमको १५ वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । संशोधन प्रस्ताव अस्वीकृत भएपछि प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।प्रदेशसभाको बिहीबार मात्र ३ वटा बैठक बसेर सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो । बिहान ८ बजे बसेको बैठकमा एमालेले अवरोध गरेपछि केही समय प्रदेशसभाको बैठक अवरुद्ध भएको थियो ।
सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बसेको प्रदेशसभाको बैठकमा एमालेका सांसदहरुले कार्यविधि मिचेर अनुदान कार्यक्रम आफ्नालाई दिन कर्मचारीलाई दवाव दिएको र आफू अनुकुल काम नगरेको भन्दै केही कर्मचारीलाई सरुवा गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका विरोध गरेपछि बैठक स्थगित भएको थियो ।
एमालेले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईं र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेको मिलेमतोमा कृषि अनुदान आफ्ना मान्छेलाई कार्यविधि विपरित नदिएको भन्दै मन्त्रालय र मातहतका कार्यालयका कर्मचारीहरुलाई दवाव दिएको तथा ३ जना कर्मचारीहरुको सरुवा समेत गरेको भन्दै विरोध गरेको थियो ।प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा तत्काल सर्वदलीय बैठक बसेर सहमती भएपछि १० मिनेटका लागि स्थगित गरिएको प्रदेशसभाको बैठक करिव २ घण्टापछि बैठक पुनः संचालनमा आएको थियो ।
बैठक संचालनमा आएपछि प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बिहिबार बसेको बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका थिए ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि ३१ जना सांसदहरुले धारणा राखेका थिए । सांसदहरुले धारणा राखेपछि प्रदेशसभाकी उपसभामुख राधिका तामाङले प्रदेशसभाको पुनः एक घण्टाको लागि बैठक स्थगित गरेकी थिइन् ।