हेटौंडा अस्पतालको हालत- ३ दिन धाउँदा पनि उपचार पाउन मुस्किल
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा कर्मचारी प्रशासनको बेवास्था र लापरवाहीले बिरामीले निकै सास्ती भोग्न बाध्य बनेका छन् ।
अस्पतालको व्यवस्थापन र कर्मचारीको मनलाग्दीका कारण हरेक दिन यहाँ उपचार गर्न आएका बिरामी हैरान हुने गरेका छन् । बिहान ६ बजेदेखि टोकन लिएर उपचार गर्न आएका बिरामीले हेटौ डा अस्पतालमा ३ दिनमा पनि ओपिडी सेवा पाउन सक्दैनन् ।
गत ३० गते रौतहट बाट ६० बर्षिया माया चौलागाईं हेटौंडा अस्पताल उपचारका लागि आइन् । उनले आएको दीन टोकन र जांच पुर्जा मात्र लिन भ्याइन । भोलिपल्ट बिहानै उनि अस्पताल गइन् । चिकित्सकले चेकजाँच गर्न विभिन्न परिक्षण गर्नु भनेपछि बिल काट्न गईन् र बिल काटिए जतिको परिक्षण बल्ल बल्ल गरिन् । भोलिपल्ट अर्थात १ गते उनि पुनः अस्पताल गईन् । चिकित्सकलाई रिपोर्ट देखाईन् तर चिकित्सकले लेखे जतिको परिक्षण भएनछ, सबै परिक्षण गरेर आउनुस भन्दै फर्काइदिए । उनि फेरी बिल काटेको स्थानमा गईन् । कहाँ के भयो भनेर उनले यताउति ओपिडीको कागज देखाउँदा थाहा भयो, त्यहाँ चिकित्सकले परिक्षण गर्नुपर्ने भनिएको मध्ये २ चिजको कर्मचारीले बिल बनाउनै बिर्सिएका रहेछन् । उनि निरास हुँदै पुनः लाइनमै बसेर बिल काटिन् र ल्याबमा गइन् । उनले बुधबार पनि आफ्नो उपचार गराउन सकिनन् ।
यो त एक प्रतिनिधि घटना हो । अहिले हेटौंडा अस्पतालमा पुगेका हरेक बिरामीलाई यस्तै समस्याले हैरान बनाउँछ । यहाँका प्रशासन, अस्पताल संचालक समितिका हाकिम र कर्मचारीको आफूखुसी र बिरामीलाई उनीहरुले गर्ने व्यवहारले अस्पताल पुगेका बिरामी र बिरामीका आफन्त हैरान हुने गरेका छन् ।
हामीले एकजना बिरामीको प्रतिनिधि घटना मात्र प्रस्तुत गरेका हौँ । अस्पतालको भद्रगोल र नागरिकले पाउने सस्तिका विषयमा हामि निरन्तर खबर सम्प्रेषण गर्नेछौं ।